राष्ट्रिय सभाका १९ स्थानमा मतदानका लागि तयारी: आयोगको टोलीद्धारा प्रधानमन्त्रीसँग परामर्श

रेडियो कान्तिपुर संवाददाता

कार्तिक ८, २०७८ | काठमाडौं


निर्वाचन आयोगले राष्ट्रिय सभाको दुई वर्षे पदावधि सकिन लागेका १९ सदस्यको स्थानमा निर्वाचनको तयारी अघि बढाएको छ । तयारी स्वरुप आज आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर परामर्श गरेको छ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले आगामी फागुन २० गते म्याद सकिने भएकाले त्यसको तयारी स्वरुप प्रधानमन्त्री देउवाको परामर्श लिएको बताउनुभयो । राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन– २०७५ मा कार्यकाल सकिनुभन्दा कम्तीमा ३५ दिनअघि चुनाव गर्नुपर्ने प्रावधान छ । 


सोही प्रावधान अनुरुप माघको पहिलो हप्ताभित्र निर्वाचन गर्न मिति तोक्ने विषयमा छलफल भएको उहाँको भनाई छ । संसद सचिवालयले राष्ट्रिय सभाका ५९ मध्ये १९ जना सदस्यको कार्यकाल २० फागुनमा सकिने भएकाले चुनाव गरिदिन निर्वाचन आयोगलाई पत्र पठाएपछि आयोगले निर्वाचनका लागि तयारी गरेको हो । भेटमा उपनिर्वाचन अन्तर्गत खाली रहेका २२ ठाउँको निर्वाचन र मतदाता नामावलीलाई व्यवस्थित बनाउने विषयमा समेत छलफल भएको प्रमुख आयुक्त थपलियाले जानकारी दिनुभयो । 


प्रतिक्रिया