प्रधानन्यायाधीशलाई महाअभियोग लगाउने बारे छलफल भएको छैन : माधव नेपाल

कार्तिक ११, २०७८ | धनगढी

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई महाअभियोग लगाउने विषयमा अहिलेसम्म कुनै छलफल नभएको बताउनु भएको छ । बिहीबार धनगढी विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले प्रधानन्यायाधीशलाई महाभियोग लगाउने विषयमा प्रवेश नै नगरेको स्पष्ट पार्नुभयो । 

‘प्रधानन्यायाधीशका विषयमा पनि सत्तारुढ दलबीच कुनै छलफल हुन सकेको छैन,’ उहाँले भन्नुभयो, ‘म बाहिर नै छु, ५ दलको बैठक समेत बस्न सकेको छैन ।’ न्यायपालिकाका विषयमा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिब्यक्ति प्रति अध्यक्ष नेपालले आपत्ति जनाउनु भएको छ ।

प्रतिनिधिसभा ब्यूँताउने न्यायाधीशहरुको राजीनामा माग्ने ओलीको अभिब्यक्ति प्रणाली भत्काउने गम्भीर षडयन्त्र भएको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो, ‘न्यायपालिकालाई नै ध्वस्त पार्ने गरी प्रतिपक्षी दलका नेताबाट अभिब्यक्ति आउनु गैरजिम्मेवारीको पराकाष्ठा हो ।’ 

अध्यक्ष नेपालले संविधान नै समाप्त गर्ने षड्यन्त्रमा लागेकाहरुले न्यायिक प्रणाली नै भत्काउने काम गर्नु समान्य भएको बताउनुभयो । महेन्द्रनगरमा पार्टी कार्यालय उद्घाटनका लागि पुगेका नेपालले सुदूरपश्चिम प्रदेशको सरकार परिवर्तनका विषयमा भने बोल्न चाहेनन् । 

पत्रकार सम्मेलनमा अधिकांश समय एमाले अध्यक्ष ओलीको आलोचनामा खर्चिएका अध्यक्ष नेपालले जुन प्रदेशमा जुन दल ठूलो छ उसैको नेतृत्वमा सरकार गठन हुने बताउनुभयो ।


प्रतिक्रिया