राप्रपामा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

मंसिर १८, २०७८ | काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपामा नयाँ नेतृत्व चयनका लागि अहिले मतदान भईरहेको छ । राप्रपाको एकता महाधिवेशनको नयाँ कार्यसमिति चयनका लागि बिहान ८ बजेबाट मतदान सुरु भएको राप्रपाका नेता राजाराम श्रेष्ठले जानकारी दिनुभयो । 

नयाँ नेतृत्वका लागि वर्तमान अध्यक्ष कमल थापा र राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा छ । दुबै जना राप्रपा नेपालको पृष्ठभूमिका नेता हुन् । राप्रपा नेपाल गठन भएदेखि नै अधिकांश समय अध्यक्ष रहेका थापालाई लिङ्देनले चुनौती दिएका छन् । 

हिजो सम्पन्न हुने भनिएको मतदान बाँके, रुपन्देही, धादिङ लगायत २३ जिल्लाका प्रतिनिधिको विदाका कारण एक दिन ढिला गरी आज सुरु भएको हो । मतदानबाट अध्यक्ष सहित १ सय ४९ कार्य समिति चयन हुनेछन् । पदाधिकारी अन्तर्गत, एक महिला सहित ४ उपाध्यक्ष पदका लागि ८ जनाको उम्मेदवारी परेको छ । 

एक महिला सहित ३ जना महामन्त्रीका लागि ६ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । राप्रपामा ८ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ । 

समावेशी सहित १ सय ४१ केन्द्रीय सदस्यका लागि २ सय ६४ जनाले मनोनयन दर्ता गराएका छन् । अध्यक्षका लागि थापा र लिंङदेनले छुट्टाछुट्टटै प्यानल बनाएर चुनावी मैदानमा होमिएका छन् । 

२०७६ फागुनमा राप्रपा र राप्रपा संयुक्तबीच एकता भएपछि पहिलो पटक भइरहेको एकता महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । राप्रपाले १ सय ९९ केन्द्रीय कार्यसमिति मध्ये १ सय ४९ जना निर्वाचनबाट चुनिने गरी विधान संशोधन गरेको छ । अध्यक्षले ५० जना मनोनीत गर्ने व्यवस्था गरिएको छ । 


प्रतिक्रिया