गण्डकी प्रदेशमा मतदान सम्पन्न, अन्य ५ प्रदेशमा जारी, प्रदेश २ मा निर्वाचन प्रक्रिया स्थगित

रेडियो कान्तिपुर संवाददाता

मंसिर १८, २०७८ | काठमाडौं

नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत गण्डकी प्रदेशमा कार्यसमिति चयनका लागि मतदान सम्पन्न भएको छ । कुल १ हजार १ सय ६५ मतमध्ये १ हजार १ सय ४६ मत खसेको छ । गण्डकी प्रदेशमा केन्द्रिय सभापति शेरवहादुर देउवा समुहका अर्जुनप्रसाद जोशी र वरिष्ठ नेता रामचन्द्र पौडेल समुहबाट शुक्रराज शर्मा प्रतिस्पर्धामा छन् । सम्पूर्ण प्रक्रिया पूरा गरेर मतगणना गर्ने तयारी भइरहेको हाम्रा सहकर्मी लालप्रसाद शर्मा जनाएका छन् ।

प्रदेश १ मा मतदान जारी छ । मतपत्रमा केही उम्मेदवारको नाम छुटेपछि निर्वाचन प्रक्रिया रोकिएको थियो । नाम छुटेका उम्मेदवारहरुलाई सर्वसम्मत बनाइएपछि निर्धारित समयभन्दा ८ घण्टापछि त्यहाँ मतदान सुरु भएको हाम्रा विराटनगर सहकर्मी विनोद भण्डारीले जनाएका छन् । प्रदेश १ मा सभापतिका लागि पौडेल पक्षबाट गुरुराज घिमिरे र सभापति देउवाको पक्षबाट उद्धव थापा चुनावी प्रतिस्पर्धामा छन् ।

बागमती प्रदेशमा जारी मतदानमा सभापतिका लागि संस्थापन पक्षबाट इन्द्रबहादुर बानियाँ, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट जगदीश्वर नरसिंह केसी र नेता कृष्णप्रसाद सिटौला पक्षबाट भीमसेनदास प्रधान चुनावी मैदानमा उत्रिएका छन् ।

लुम्बिनी प्रदेशमा संस्थापन पक्षका भरतकुमार शाह र इतरपक्षका अमरसिंह पुन सभापतिका लागि प्रतिस्पर्धामा छन् । त्यहाँ मतदान जारी छ ।

कर्णाली प्रदेशमा संस्थापन पक्षबाट ललितजंग शाही, इतरबाट भुपेन्द्रजंग शाही र नेता बिमलेन्द्र निधि समूहबाट मोतिराज बम प्रतिस्पर्धामा छन् । दिउँसो २ बजेबाट सुरु भएको मतदान अहिले पनि जारी रहेको हाम्रा सहकर्मी कृष्णप्रसाद गौतमले जनाएका छन् ।

यस्तै, सुदूरपश्चिम प्रदेशमा संस्थापन समूहका सभापतिमा वीरबहादुर बलायर र इतर समूहबाट नारायणदत्त मिश्रबीच प्रतिस्पर्धा छ । त्यहाँ पनि मतदान जारी रहेको सहकर्मी चित्रांग थापाले बताएका छन् ।

यसैबीच, प्रदेश २ मा भने केही जिल्लामा क्षेत्रीय अधिवेशन समेत हुन नसकेकाले निर्वाचन प्रक्रिया पछाडि धकेलिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । उद्घाटन भएपछि अधिवेशन भएको हाम्रा सहकर्मीले जनाएका छन् । मुल्क संघीय प्रणालीमा गएपछि पहिलो पटक प्रदेशमा पार्टीको संरचना बनाउन लागेको कंग्रेसको प्रदेश अधिवेशन भएको हो । प्रदेश अधिवेशनबाट सभापतिसहित, दुई उपसभापति, दुई महामन्त्री र एक महिला सहित तीनजना सहमहामन्त्री निर्वाचित हुनेछन् । 


प्रतिक्रिया