राप्रपाको मतदान राती अबेरसम्मै

रेडियो कान्तिपुर संवाददाता

मंसिर १८, २०७८ | काठमाडौं

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको नयाँ नेतृत्व चयनका लागि मतदान भइरहेको छ । अध्यक्षका प्रत्याशी कमल थापा र राजेन्द्र लिङदेन प्यानलसहित प्रतिस्पर्धा छन् । काठमाडौको भृकुटीमण्डपमा जारी निर्वाचनमा यो समाचार तयार पार्दासम्म २ हजार २ सय जना प्रतिनिधिले मतदान गरेका छन् । 

राप्रपाको महाधिवेशनमा ४ हजार ३ सय ८० प्रतिनिधि सहभागी छन् । मतदान आज राति अवेरसम्म चल्ने राप्रपाको निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार, अध्यक्ष पदका लागि मतपत्र र अन्य पदाधिकारी र कार्यसमितिका लागि विद्युतीय मतदानको व्यवस्था गरिएको छ । समितिका सदस्य राजु बस्नेतका अनुसार विद्युतीय मतदानका लागि ८६ वटा भोटिङ मेसिन प्रयोग गरिएको छ । मतदानबाट अध्यक्ष सहित १ सय ४९ कार्य समिति चयन हुनेछन् । पदाधिकारी अन्तर्गत, एक महिला सहित ४ उपाध्यक्ष पदका लागि ८ जनाको उम्मेदवारी परेको छ । 

एक महिला सहित ३ जना महामन्त्रीका लागि ६ जनाको उम्मेदवारी परेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । राप्रपामा ८ सदस्यीय पदाधिकारीका लागि १६ जनाको उम्मेदवारी परेको छ । समावेशी सहित १ सय ४१ केन्द्रीय सदस्यका लागि २ सय ६४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राप्रपाले विगतमा विभाजित दुई वटा पार्टीवीच एकीकरण भएपछि एकता महाधिवेशन गरेको हो । 


प्रतिक्रिया