प्रदेश २ को राजधानी जनकपुरधाम

माघ ३, २०७८ | जनकपुर

प्रदेश २ को प्रदेश सभा बैठकले जनकपुरधामलाई प्रादेशिक राजधानी बनाउन गरेको प्रस्ताव पारित गरेको छ । जनकपुरलाई प्रादेशिक राजधानी बनाउनका लागि भएको मतदानमा प्रदेश सभाको बैठकमा उपस्थित ९९ सांसदमध्ये ७८ मत खसेको थियो । 

कुल १ सय ४ मध्ये बाँकी सांसद भने उपस्थित थिएनन् । मतदानपछि सभामुख सरोज यादवले प्रदेश २ को राजधानी जनकपुरधाम भएको घोषणा गर्नुभयो । यससँगै लामो सदयदेखि सहमति हुन नसकेको प्रदेश २ को राजधानी टुंगो लागेको छ ।

सभामुख यादव नेतृत्वको संसदीय समितिले राजधानी जनकपुरसहित उत्तरपूर्वमा ढल्केवर–कमला हुँदै दक्षिणमा नेपालको सीमासम्म, वीरगञ्ज महानगरपालिका र वीरगञ्ज, सिमरा जितपुर, निजगढ हुँदै सिम्रौनगढसम्मको भूगोल समेटिएको प्रस्ताव गरेको थियो । 

जनकपुरधामलाई प्रादेशिक राजधानी बनाउन सबै दलको साझा प्रस्ताव रहेपनि बारा–पर्साका सबै सांसदहरुले वीरगञ्ज हुनुपर्ने भन्दै छुट्टै प्रस्ताव गरेका थिए । प्रदेशको नाम मधेस, जानकी, मिथिला–भोजपुरा र मध्य मधेस प्रस्ताव गरिएको छ । 

राजधानी मतदान प्रकृयाबाट टुंगिएपछि प्रदेशको नामका लागि मतदान हुने कार्यतालिका छ । प्रदेशको नाम मधेसमा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र माओवादी केन्द्रको साझा प्रस्ताव हो । 

एमाले र नेकपा एकीकृत समाजवादी पार्टीले प्रदेशको नाम जानकी तथा नेपाली कांग्रेसले मिथिला–भोजपुरा प्रस्ताव गरेको हो । यी सबै दलका बारा–पर्साका सांसदले भने प्रदेशको नाम मध्य मधेस हुनुपर्ने भन्दै छुट्टै प्रस्ताव गरेका छन् । 

करीब डेढ वर्षअघि प्रदेश सभामा प्रदेशको नाम मधेस, जानकी र मिथिला–भोजपुरा तथा राजधानी जनकपुर वा वीरगञ्ज भन्ने प्रस्तावमा मतदान हुँदा दुबै प्रस्तावलाई दुई तिहाइ नपुग्दा अस्वीकृत भएको थियो ।


प्रतिक्रिया