कोरोना अपडेट: थप १० हजार ७०३ जनामा संक्रमण पुष्टि, स्वास्थ्य मापदण्ड अपनाउन प्रधानमन्त्री देउवाको आग्रह

माघ ७, २०७८ | काठमाडौं

नेपालमा थप १० हजार ७ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १० हजार भन्दा बढी संख्यामा लगातार चौथो दिन संक्रमित बढेका हुन् । 

स्वास्थ्य मन्त्रालयका अनुसार १८ हजार ६ सय १८ पीसीआर परिक्षणमा ८ हजार ८ सय १५ तथा ४ हजार ४ सय ७४ एन्टीजेन परिक्षणमा १ हजार ८ सय ८८ संक्रमित थपिएका छन् । पछिल्लो पटक ३ जना संक्रमितको मृत्यु भएको छ । 

नेपालमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ६ सय ३५ पुगेको मन्त्रालयको तथ्यांक छ । देशभर सक्रिय संक्रमितको संख्या ६५ हजार ३ सय ७४ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालना गर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री शेरवहादुर देउवाले कोभिड–१९ को संक्रमण बढिरहेकाले स्वास्थ्य मापदण्ड पालना गर्न आग्रह गर्नुभएको छ । आज अपरान्ह राष्ट्रका नाममा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री देउवाले सुरक्षा मापदण्ड अनिवार्य रुपमा पालना गर्न अपिल गर्नुभएको हो । 

कोरोना नियन्त्रण र रोकथामका लागि सरकारले प्रदेश र स्थानीय तहसँग समन्वय गरिरहेको उहाँको भनाइ थियो । प्रधानमन्त्री देउवाले स्वास्थ्य प्रणालीमा स्रोत–साधनलाई कमी हुन नदिने समेत बताउनुभयो । 

आफू नेतृत्वको सरकारले शुरुबाट नै कोरोना विरुद्धको खोप अभियानलाई प्राथमिकता दिएको उहाँले दावी गर्नुभयो । प्रधानमन्त्री देउवाले ५ वर्षदेखि ११ बर्ष उमेरका बालबालिकाका लागि छिट्टै खोप अभियान शुरु हुने समेत बताउनुभयो । 

सरकारले कोरोना नियन्त्रण र रोकथाममा प्रभावकारी काम गर्न नसकिरहेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री देउवाले सम्वोधन गर्दै सरकारका कामको बचाउ गर्नुभएको हो ।


प्रतिक्रिया