लेटाङमा कर्फयु हट्यो

चैत्र १०, २०७८

जिल्ला प्रशासन कार्यालय मोरङले लेटाङमा लगाइएको कर्फयु आजदेखि हटाएको छ । लेटाङ ५ खेरुवा स्थित शिक्षा विकास माध्यामिक विद्यालयमा यौन दुब्र्यवहार आरोपी शिक्षक मनोज पौडेललाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि उत्तेजित भीडले आइतवार आक्रमण गर्दा प्रहरी जवान उर्मिला श्रेष्ठको मृत्यु भएको थियो । त्यसपछि भड्किएको हिंसालाई नियन्त्रण लिन मोरङ प्रशासनले सोमवारदेखि कर्फयु लगाएको थियो ।

लेटाङको अवस्था सामान्य हुदै गएको र दैनिक सुरक्षा पेट्रालिङ गर्ने गरी कर्फयु हटाइएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले वताउनुभयो । दाहालका अनुसार आइतवार देखि ठप्प रहेको त्यहाँको शैक्षिक गतिविधिलाई पनि निरन्तरता दिने र क्षतिग्रस्त घटना स्थलको विद्यालयको क्षतिको आकलन गरी सो विद्यालयमा पनि चाँडै शैक्षिक गतिविधि सुरु गर्ने प्रक्रिया सुरु गरिएको छ । सो विद्यालयका डेक्स बेञ्च, कम्प्युटर र प्रशासनिक शाखामा तोडफोड भएको छ ।

घटनाको छानविन र अनुसन्धान गर्न जिल्ला प्रहरी मोरङ र प्रदेश १ प्रहरी कार्यालयले वेग्लावेग्लै समिति गठन गरी अनुसन्धान गरिरहेको छ । प्रहरीले अहिले सम्म ९ जनालाई नियन्त्रणमा लिएको छ । 


प्रतिक्रिया