भरतपुरमा राप्रपासँगको गठबन्धन एमालेलाई सुखद नहुने सङ्केत, भुईंकटहरले पनि दिएन अपेक्षा अनुसारको साथ

जेष्ठ ३, २०७९

चितवनको भरतपुर महानगरपालिकामा चारवटा वडाहरुको मत गनेर सक्दा सत्तारुढ गठबन्धनले मेयर पदमा उठाएको माओवादी केन्द्रकी रेणु दाहाल र एमालेका विजय सुवेदीबीच तिब्र प्रतिस्पर्धा छ । चारवटा वडाको अन्तिम मत परिणाम आउँदा रेणु दाहाल विजय सुवेदीभन्दा २९ मतले अगाडी हुनुहुन्छ । पछिल्लो पटक मत गणना सकिएको वडा नम्बर चार एमालेका लागि उत्साहप्रद रहेन ।

अघिल्लो निर्वाचनमा रोचक प्रतिस्पर्धाबीच निकै कम भोटले यो वडामा एमालेले वडाध्यक्ष जितेको थियो । अहिले एमालेका उम्मेदवारलाई फराकिलो मतान्तरले पराजित गर्दै नेपाली काँग्रेसका अर्पण पोखरेल वडाध्यक्षमा विजयी हुनुभयो । एमालेले वडाध्यक्ष मात्रै गुमाएन मेयरको प्रतिस्पर्धामा संकट आउन सक्ने संकेत पनि यो वडाले दिएको छ । यो वडामा स्वतन्त्र उम्मेदेवार जगन्नाथ पौडेल र राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा)को प्रभाव छ । राप्रपासँग नेकपा एमालेले मेयर उपमेयर पदमा चुनावी तालमेल गरेको छ । वडा नम्बर ४ मा एमालेका वडाध्यक्षले एक हजार ६ सय ३३ र राप्रपाका उम्मेदवारले ८ सय ८० मत ल्याएका छन् । एमाले र राप्रपाका वडाध्यक्षहरुको कुल दुई हजार ५ सय १३ मत पाएका छन् । तर मेयर पदमा विजय सुवेदीले यो वडामा जम्मा एक हजार ७ सय ४५ मत र उपमेयर पदमा राप्रपाकी हिमला गुरुङले एक हजार ५ सय ८२ मत ल्याउनुभएको छ । मेयर उपमेयरमा एमाले र राप्रपाबीच चुनाबी तालमेल भए पनि वडामा प्रभाव नपरेको पो हो कि भन्ने संकेत यसले दिएको छ । यो वडामा सत्तारुढ गठबन्धनबाट मेयर पदमा उम्मेदवार रहेकी रेणु दाहाललाई पनि तालमेल अनुरुपको मत आएको छैन । वडा नम्बर चारमा वडा तहमै सत्तारुढ दलबीच गठबन्धन थियो । यहाँ गठबनधनबाट नेपाली काँग्रेसका उम्मेद्वार अर्पण पोखरेल दुई हजार ५ सय १ मत ल्याएर विजयी हुनुभयो । तर गठबन्धनबाटै मेयर पदको उम्मेदेवार रहेकी रेणु दहाललाई यो वडामा केबल एक हजार ८ सय २४ मत आयो । बरु गठबन्धनबाटै उपमेयर पदका उम्मेद्वार रहेका नेपाली काँग्रेसका चित्रसेन अधिकारीलाई वडाध्यक्षको भन्दा आठ बढी दुई हजार ५ सय ९ मत आयो । यो वडामा मेयर पदमा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार २१६ मत ल्याउनुभयो । 

पौडेलले रेनु र सुवेदी दवैलाई जाने मत आफु तिर तानेको प्रष्ट छ । रेणुलाई जाने काँग्रेसको मत जगन्नाथले काट्ने र राप्रपासँग तालमेल गर्दा आउने मतले विजयी हुने योजना बनाएको एमालेलाई वडा नम्बर ४ ले दिएको यो संकेत सुखद छैन । कारण तालमेलमा रहेको राप्रपालेसमेत वडा नम्बर चारमा जसरी जगन्नाथलाई साथ दिए एमालेलाई मत अपुग हुने खतरा छ । चार नम्बर वडाको जस्तो मतको अवस्था रहे झिनो मतान्तरले अगाडी पछाडी रहेका रेणु र विजयमध्ये मेयरको रेस रेणुका लागि अनुकुल हुँदै जान सक्छ । अघिल्लो स्थानीय तह निर्वाचनमा भरतपुरका वडाहरुमा मेयरले पाएको मत र अहिलेको निर्वाचनको उतार चढाव नियाँली रहेका माओवादी केन्द्रका नेता सुर्दशन पौडेल प्रारम्भमा रेणु दाहालले झिनो मतले अगाडी पछाडी परे पनि भरतपुरको १२ नम्बर वडापछि मतान्तर बढाउँदै अग्रता लिने बताउँनुहुन्छ । १२ नम्बरपछिका वडाहरु सत्तारुढ गठबन्धनका लागि केही हदसम्म अनुकुल रहे पनि भरतपुरको १०, ११ र १२ नम्बर वडाबाट एमालेले मतान्तर बढाउन सक्ने आँकलन एमालेकै नेताहरुको रहेको छ ।

एमाले नेता कृष्णभक्त पोखरेलले भन्नुभयो , ‘१०, ११, १२ बाट हाम्रो मतान्तरमा राम्रै सुधार हुने अपेक्षा छ , त्यसपछिका कुनै कुनै वडा सत्तारुढ गठन्धनका लागि केही सजिला होलान तर प्रतिस्पर्धामा अहिले कै जस्तै उही निकै थोरै मतको मात्रै अन्तर रहने छ । पश्चिम तिर हाम्रो मत राम्रो भएका वडा पनि छन् । त्यसैले हामी सफल हुनेमा विश्वस्त छौं’ 


प्रतिक्रिया