एनआरएनको लगानी भित्र्याउन बाधक कानूनी प्रक्रियामा सरकारले सुधार गर्छ : प्रधानमन्त्री देउवा

असार २, २०७९ | काठमाडौं

प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपाली एनआरएनको लगानी नेपाल भित्र्याउन अप्ठ्यारो पार्ने कानून प्रक्रियामा सुधार गर्न सरकारले पहल गरिरहेको बताउनुभएको छ । काठमाडौंमा आज आयोजित नागरिकता, मताधिकार, लगानी तथा वैदेशिक रोजगार विषयक सम्मेलनमा प्रधानमन्त्री देउवाले एनआरएनको लगानी भित्र्याउन र त्यसको सुरक्षो सुनिश्चित गर्न सरकार तयार रहेको बताउनुभएको हो ।

पछिल्लो बजेटमा एनआरएनले माग गर्दै आएका माग सम्बोधनका लागि विभिन्न योजना समेटेको भन्दै उहाँले नेपालको भाषा, संस्कृति र पर्यटकीय सम्भावनाको विश्वव्यापीकरणमा सहभागी हुन आग्रह गर्नुभयो । यसैबीच प्रधानमन्त्री देउवाले गैरआवासीय नेपालीहरुले उठाउँदै आएको नागरिकताको मुद्दा सम्बोधन गर्न सरकार सकारात्मक रहेको बताउनुभएको छ । सरोकारवाला सबै पक्षसँग समन्वय गरी नागरिकताको विषयमा टुंगोमा पुग्ने उहाँको भनाइ थियो ।

यसैबीच, परराष्ट्रमन्त्री नारायण खड्काले सन् २०२६ सम्ममा नेपाललाई अल्पविकसित मुलुकको सूचीबाट विकालशिल मुलुकका रुपमा स्थापित गर्ने लक्ष्य प्राप्तीका लागि विदेशस्थित नेपालीको ज्ञान, सीप, प्रविधि र लगानी अपरिहार्य रहेको बताउनुभयो । सरकारको पहिलो प्राथमिकता नै आर्थिक विकास भएको बताउँदै उहाँले पर्यटन, निर्यात प्रवर्द्धन लगायतमा सहयोग पुर्‍याउन आग्रह गर्नुभयो ।

यस्तै, श्रममन्त्री कृष्ण कुमार श्रेष्ठले वैदेशिक रोजगारलाई सुरक्षित , मर्यादित र व्यवस्थित बनाउन एनआरएनएको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । सो क्षेत्रको सहकार्यका लागि आजै सरकार र एनआरएनएबीच एक समझदारी पत्रमा हस्ताक्षर समेत भएको छ ।

मन्त्री श्रेष्ठले वैदेशिक रोजगारीमा रहेको नेपाली कामदारलाई सामाजिक सुरक्षा कोषमा जोडिने र यसका लागि गन्तब्य मुलुकका रोजगारदातासँग समेत छलफल भइसकेको बताउनुभयो ।

श्रमिकले रोजगारदातालाई भुक्तानी लेबीलाई नेपालमा रहेको सामाजिक सुरक्षा कोषमा जोड्न आग्रह गरेको उहाँको भनाई थियो । मन्त्रालयमा समिति गठन गरी बैदेशिक रोजगारीमा रहेकालाई कोषमा आबद्ध गर्न आवश्यक पूर्वाधारहरुको पनि तयारी गरिरहेको र कार्यविधि पनि तर्जुमा भई रहेको मन्त्री श्रेष्ठले बताउनुभयो ।

यसैबीच, गैरआवासीय नेपाली संघका अध्यक्ष कुल आचार्यले गैरआवासीय नेपालीलाई दोहोरो नागरिकताको सुविधा प्रदान गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।दोहोरो नागरिकता भएमा विदेशमा रहेको नेपालीले नेपालको विकास निर्माणका लागि लगानी गर्न सहज हुने उर त्यस्तै, दोस्रो पुस्तालाई समेत नेपालसँग जोड्न सकिने उहाँको भनाई थियो । साथै विदेशमा रहेको श्रमिकलाई आगामी संघीय निर्वाचनमा सहभागी हुने व्यवस्था मिलाउन समेत अध्यक्ष आचार्यले सरकारसँग अनुरोध गर्नुभयो । 

यसैबीच, संघ अर्का अध्यक्ष डा बद्री केसीले लगानी ल्याउन अधिकतत र न्यूनतम कुनै सीमा नतोकी लगानी गर्ने वातावरण बनाउन आग्रह गर्नुभयो । गैरआवासीय नेपालीलाई सहज वातावरण बनाए राष्ट्र निर्माणका लागि विदेशी लगानी आवश्यक नपर्ने भन्दै उहाँले नेपालमा लगानी भित्र्याउन १० अर्बको फण्ड स्थापना गरिए पनि सरकारले सहजीकरण गर्न नसक्दा कार्यान्वयन गर्न नसकेको गुनासो गर्नुभयो । लगानी सम्बन्धी कानून सुधार नहुँदा लगानी ल्याउन समस्या भएको उहाँको भनाई थियो । वैदेशिक रोजगार वाध्यात्मकरुपमा जान व्यवस्था अन्त्य गर्नुपर्न केसीले बताउनुभयो । 


प्रतिक्रिया