न्यायाधीश-वकिल घूस लेनदेन प्रकरण : सत्यतथ्य छानबिन गर्न बारको माग

रेडियो कान्तिपुर संवाददाता

असार ८, २०७९ | काठमाडौं

न्यायाधीश र अधिवक्तावीच घूस लेनदेनका लागि भएको भनिएको फोन सम्वाद बाहिरिएपछि न्यायिक क्षेत्र तरंगित भएको छ । न्यायपालिकामा शुद्धिकरणका लागि पछिल्लो समय बहस तीव्र भएका बेला न्यायाधीश र अधिवक्तावीच थुनामा रहेका व्यक्तिलाई छुटाउने प्रयासमा लेनदेन गर्नेबारेको फोन सम्वाद बाहिर आएको हो । यसैवीच कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनले जिल्ला अदालत काठमाडौंमा भएको घटनाको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

 स्वतन्त्र, स्वच्छ र निश्पक्ष न्यायापालिका माथि घटनाले प्रहार गरेको भन्दै तत्काल छानविन गरि दोषीमाथि आवश्यक कारबाहीको माग गरेको छ । बारका महासचिव अञ्जिता खनालद्धारा जारी विज्ञप्तिमा जिल्ला अदालतका न्यायाधिश कोइराला र अधिवक्ता पोख्रेलबीच भएको लेनदेनको विषयमा सत्यतथ्य छानविन गर्न माग गरिएको छ । 

यसैवीच, सर्वोच्च अदालत बार एशोसिएशनले काठमाडौ जिल्ला अदालतका न्यायाधिश कोइराला र अधिवक्ता पोखरेलबीच सार्वजनिक भएको घटनाको सत्यतथ्य छानविनको माग गरेको छ । सर्वोच्च वारका सचिव ऋषिराम घिमिरेद्धारा जारी विज्ञप्तीमा घटनाले न्यायालयको स्वतन्त्रता, गरिमा, सम्मान तथा कानुन व्यवसायीको मर्यादा र निष्ठामाथि नै गम्भीर प्रहार गरेको उल्लेख छ । 


प्रतिक्रिया