एकीकृत समाजवादीभित्र विवाद चर्किदै

असार १०, २०७९

मन्त्री हेरफेरको विषयलाई सत्तारुढ एकीकृत समाजवादीभित्र विवाद चर्किदै गएको छ । एमालेबाट विभाजित भएर पार्टी गठन भएको एक वर्ष नपुग्दै एकीकृत समाजवादीका १० सांसदले तत्काल संसदीय दलको बैठक बोलाउन माग गर्दै पार्टी नेतृत्वलाई ध्यानाकर्षण पत्र बुझाएपछि विवादको नयाँ रुप सतहमा आएको हो । उनीहरुले अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदे ध्यानाकर्षण पत्र बुझाउँदै मन्त्री हेरफेरको विषयमा असन्तुष्ट १० सांसदले संसदीय दलको बैठक बोलाउन माग गरेका छन् । 

संसदमा बजेटमाथि छलफल चलिरहँदा मन्त्री हेरफेरको विषय सही र व्यवहारिक नभएको सासंदले ध्यानाकर्षण पत्रमा उल्लेख गरेका छन् । त्यस्तै, प्रस्तावित मन्त्रीहरुको नाम समावेशी तथा सन्तुलित नभएको भन्दै १० सांसदले असन्तुष्टि व्यक्त गरेका छन् । नेतृत्वले समान व्यवहार नगरेको, गैर सांसद र एउटै जिल्लाका दुई जना सांसदलाई मन्त्री सिफारिस गरिएको दावी समेत उनीहरुले गरेका छन् । त्यस्तै पूराना र नयाँको सन्तुलन नमिलाएको, स्थायी कमिटी बैठकको निर्णय विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई पटक पटक मन्त्री हेरफेरको विषयमा दबाब दिएको सांसदहरुले बताएका छन् । 

मन्त्रीहरु विरोध खतिवडा, प्रेमबहादुर आले, रामकुमारी झाँक्री, कृष्णकुमार श्रेष्ठ सहित १० सांसदले ध्यानाकर्षण पत्र बुझाएका हुन् । एकीकृत समाजवादीका ४ मन्त्रीको कदमलाई सांसद कृष्णलाल महर्जन, बिनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण, निरा जैरु, धनबहादुर बुढा र गोपालबहादुर बमले साथ दिनुभएको छ । २३ जना सांसद रहेको एकीकृत समाजवादीमा १० सांसदले पार्टी निर्णय विपरित कदम चालेपछि विवाद झनै बढ्ने देखिएको छ । 


प्रतिक्रिया