वैदेशिक रोजगारीका लागि श्रम स्वीकृती लिनेको संख्यामा उल्लेख्य बृद्धि

रेडियो कान्तिपुर संवाददाता

असार १२, २०७९

कोरोना माहामारी कम भएसँगै वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेख्य बढेको छ । वैदेशिक रोजगार विभागका अनु्सार चालु आर्थिक वर्षको ११ महिनामा श्रम स्वीकृति लिनेको संख्या ५ लाख ५५ हजार पुगेको छ । यो गत आर्थिक वर्षको तुलनामा करिब तीन गुणाले बढी हो । गत आर्थिक वर्षको जेठ मसान्तसम्म १ लाख ४६ हजार ४० जनाले मात्र वैदेशिक रोजगारीका लागि श्रम स्वीकृती लिएका लिए । जेठमा मात्रै ५७ हजार ७ सय ८३ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङक छ । कोरोना विरुद्धको खोपको पहुँच र स्वास्थ्य मापदण्डमा आएको सुधारका कारण वैदेशिक रोजगारीमा जाने नेपालीको संख्यामा उल्लेख्य बृद्धि भएको विभागले जनाएको छ ।

गत पुसमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने युवाको संख्या हाल सम्मकै उच्च देखिएको थियो । माघ र फागुनमा श्रम स्वीकृती लिनेको संख्या घटेपनि चैतमा सबैभन्दा धेरै ५९ हजार ३ सय २९ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्याङक छ । नेपालबाट वैदेशिक रोजगारीमा जानेको संख्या कोरोना माहामारी अगाडिकै अवस्थामा पुगेको विभागले जनाएको छ । रोजगारीका लागि गन्तव्य मुलुकमा सवैभन्दा धेरै कतार, साउदी अरब र यूएई छन् । 


प्रतिक्रिया