प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि चुनावी तालमेल गर्ने औपचारिक निर्णय

रेडियो कान्तिपुर संवाददाता

श्रावण २०, २०७९ | काठमाडौं

सत्तारुढ गठबन्धनले आगामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि चुनावी तालमेल गर्ने औपचारिक निर्णय गरेको छ । मंसिर ४ गतेका लागि निर्वाचन घोषणा भएको भोलिपल्ट बसेको गठबन्धनको बैठकले चुनावी तालमेल गरेर अघि बढ्ने निर्णय गर्दै सिट बाँडफाँटमा सहमति जुटाउन कार्यदल गठन समेत गरेको छ । कार्यदलले साउन मसान्तसम्म सिट बाँडफाँटको अन्तिम खाका तयार गर्ने जिम्मेवारी पाएको छ । मन्त्री एवम् कंग्रेस नेता ज्ञानेन्द्रवहादुर कार्कीले ५ दलबीच चुनावी तालमेल गरेर जाने सहमति भएको जानकारी दिनुभयो  ।

सत्तारुढ दलहरुले प्रतिनिधिसभाका लागि १६५ र प्रदेशसभाका लागि ३३० सिटको तालमेल मिलाउनुपर्नेछ । ११ सदस्यीय कार्यदलले न्यायोचित रुपमा सिटको बिषय मिलाउने नेता कार्कीले बताउनुभयो  ।

कार्यदलमा कांग्रेसबाट ३ जना र अन्य दलबाट २–२ जनाको प्रतिनिधित्व छ । काँग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, कृष्णप्रसाद सिटौला र गगन थापा तथा माओवादी केन्द्रबाट जनार्दन शर्मा र वर्षमान पुन कार्यदलमा हुनुहुन्छ । जनता समाजवादी पार्टीबाट रामसहाय यादव र रकम चेम्जोङ, एकीकृत समाजवादीका वेदुराम भुसाल र प्रमेश हमाल तथा राष्ट्रिय जनमोर्चाबाट हिमाल पुरी र आनन्द शर्मा कार्यदलका सदस्य हुनुहुन्छ । 


प्रतिक्रिया