नवौ राष्ट्रिय खेलकुदको ट्रफी काठमाडौंमा सार्वजनिक

रेडियो कान्तिपुर संवाददाता

आश्विन १३, २०७९ | काठमाडौं

राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि निर्मित ट्रफि काठमाडौं आइपुगेको छ । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले वसन्तपुरमा नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको ट्रफी सार्वजनिक गर्नुभएको छ । ओलम्पियन दिपक विष्टको संयोजकत्वमा गठित ५ सदस्यीय ट्रफी टुर कार्यदलको आयोजनामा प्रमुख शाहले ट्रफी सार्वजनिक गर्नुभएको हो । ट्रफिको पहिलो सार्वजनिक गत भदौ ३१ मा प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको थियो । 

१० लाख लागतमा निर्माण गरिएको ट्रफी नियमित ३ संस्करणका विजेताले स्थायी रुपमा पाउनेछन् । ट्रफिमा ५ केजी चाादी र २ तोला सुनको प्रयोग गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्ले यस पटक सबै प्रदेशका राजधानी, महानगरलगायतका ठाउँमा ट्रफी सार्वजनिक गरेको छ । नवौं राष्ट्रिय खेलकुद यहि असोज २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्न जिल्लामा आयोजना हुदैछन् । प्रतियोगिताको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारी र समापन प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुहुनेछ ।


प्रतिक्रिया