तेह्रथुमको आङ्दिममा मंगलबार पुन: मतदान हुने

मंसिर ५, २०७९ | तेह्रथुम

तेह्रथुमको छथर गाउँपालिका–१ आङ्दिमस्थित मतदान केन्द्रमा मंगलबार पुन: मतदान हुने भएको छ । छथर–१ आङ्दिमस्थित मतदान केन्द्रमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको मतपेटिकामा प्रतिनिधि सभाकै मतपत्रबाट मतदान भएपछि पुन: मतदान हुने भएको हो । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफल र सहमतिपछि मंगलबार पुन: मतदान गराउने निर्णय बारे निर्वाचन आयोगलाई पत्राचार गरिएको जनाएको छ । सो मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रदेश सभा सदस्यको मतपत्र दिनुपर्नेमा प्रतिनिधि सभाकै मतपत्र दिएको खुलेको छ । 

मतदान केन्द्रको मुचुल्काका आधारमा ४३ जनाले दोहोरो मतदान गरेको देखिएको छ । सर्वदलीय, सर्वपक्षीय बैठकले बढी संख्यामा भएको मतपत्र संख्या समेत यकिन गरी गणना गर्न नसकिने निष्कर्ष निकाल्दै पुन:मतदान गर्न माग गरिएको मुख्य निर्वाचन अधिकृत प्रेमश पोखरेलले बताउनुभयो । 

सो निर्णय बमोजिम आयोगलाई लिखित पत्राचार गरिएको उहाँले जानकारी दिनुभयो । सो केन्द्रमा ८४४ मतदाता थिए । त्यसमध्ये आइतबार ४५६ जनाले मतदान गरेका थिए । सो मतदान केन्द्रमा वृहस्पति गौतम मतदान अधिकृतको रुपमा खटिएका थिए । 


प्रतिक्रिया