गोरखामा मतगणना सुरु भएन, पुन: मतदानको माग

मंसिर ५, २०७९ | गोरखा

नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका उम्मेदवारले गोरखा निर्वाचन क्षेत्र नम्बर १ र २ मा पुन: मतदानको माग गरेका छन् । सत्तारुढ गठबन्धनले अवान्छित त्रियाकलाप गरेको आरोप लगाउँदै एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका उम्मेदवारले पुन: मतदानको माग गरेका छन् । 

एमालेकाबाट प्रतिनिधि सभामा गोरखा–१ का उम्मेदवार रामशरण बस्नेत, गोरखा–२ का उम्मेदवार अब्दुस मियाँ, राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल परिवार दल, हाम्रो नेपाली पार्टी, राप्रपा नेपालले १२ वटा केन्द्रमा पुन: मतदान हुनुपर्ने बताएका हुन् । गोरखा–१ र २ का केही मतदान केन्द्रमा मृत, बेपत्ता, विदेशमा रहेका तथा अनुपस्थित मतदाताको नामबाट समेत मतदान भएको पाइएको एमाले गोरखाका अध्यक्ष प्रेम गुरुङले बताउनुभयो । 

अन्य उम्मेदवारको फर्जि प्रतिनिधि खडा गर्ने, प्रतिनिधिलाई तर्साउने र भौतिक आक्रमण गर्ने, प्रतिनिधिलाई बोल्न दिने, मतदाताको इच्छा विपरीत जबरजस्ती मतदान भएको उनीहरुको आरोप छ । उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै धम्काएर मतपेटिकाको मुचुल्कामा हस्ताक्षर गराउन लगाएको आरोप लगाएका छन् । एक जनाले १० औँ पटकसम्म मतदान गरेका पाइएको राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट गोरखा–२ का प्रतिनिधि सभा उम्मेदवार कविन्द्र बुर्लाकोटीले बताउनुभयो । 

‘कर्मचारीहरुको पनि मिलिमतो जस्तो देखियो,’ उहाँले भन्नुभयो, ‘समग्रमा निर्वाचन निष्पक्ष भएन, धाँधली भयो, फर्जि मत खस्दै गर्दा निर्वाचन प्रति विश्वास भएन ।’ धाँधली हुँदा प्रहरी प्रशासन समेत मूकदर्शकको रुपमा बसेको एमालेबाट गोरखा–१ का उम्मेदवार रामशरण बस्नेतले बताउनुभयो । ज्यादतीपूर्ण र अलोकतान्त्रिक तरिकाले निर्वाचन भएको उहाँको भनाई छ ।

 गोरखा–१ अन्तर्गतको भिमसेन थापा गाउँपालिका–१ को बालकल्याण आधारभूत विद्यालय, धार्चे–३ को पार्वती आधारभूत विद्यालय, भिमसेन थापा–८ को भिमसेन आधारभूत विद्यालय, भिमसेन थापा–१ को विन्द्रवती मावि मतदान केन्द्रमा पुन: मतदानको माग गरेका हुन् । 

त्यस्तै, गोरखा निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको बारपाक सुलकोट गाउँपालिकाका सूर्य ज्योती मावि, पालुङटार नगरपालिका–७ को जीवनज्योती मावि, वारपाक सुलिकोट गाउँपालिका–४ को हिमालय मावि, अजिरकोट गाउँपालिका–३ को ज्ञानज्योती मावि, पालुङटार–१ को स्थानीका आधारभूत विद्यालय र सिरानेचा–८ को परोपकार मावि जौवारीमा पुन: मतदानको माग राखिएको हो ।

आफ्ना कुरा सर्वदलीय वैठकमा राख्ने नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका बस्नेलते बताउनुभयो । ‘हाम्रो चट्बानी अडान छाड्दैनौँ, मुख्य निर्वाचन अधिकृतलाई हाम्रा कुरा राखिसक्यौंँ, अब सर्वदलीय बैठकमा पनि यी विषय राख्छौँ,’ उहाँले भन्नुभयो, ‘उहाँहरुको प्रतिक्रिया अनुसार के गर्ने अघि बढ्छौँ ।’


प्रतिक्रिया