निर्वाचनपछि मुलुक थप अस्थिर हुने भयो : अध्यक्ष ओली

प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि झापा ५ का मतदातालाई धन्यवाद ज्ञापन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली । तस्बिर : अर्जुन/रेडियो कान्तिपुर । 

मंसिर ८, २०७९ | बिर्तामोड

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि मुलुकमा थप अस्थिरता पैदा हुने बताउनु भएको छ । निर्वाचनले मुलुकलाई स्थायित्व र स्थिर सरकार बनाउने आशा गरिएपनि त्यसो हुन नसकेको उहाँको टिप्पणी छ । 

झापा ५ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएपछि बिहीबार दमक मतदातालाई धन्यवाद दिने क्रममा ओलीले निर्वाचनको परिणामले सुरुवातदेखि नै दल तथा सांसदहरुको मोलमोलाई सुरु हुने दाबी गर्नुभयो । 

‘निर्वाचनपछि मुलुकमा स्थिर सरकार बन्छ । मुलुकले एउटा दिशा पाउँछ भन्ने आशा थियो । तर, त्यसो भए’, उहाँले भन्नुभयो, ‘अहिलेसम्मको परिणामले कुनै पनि दलको बहुमत नपुग्ने भयो । यसले निर्वाचनपछिको सरकार बनाउनै मुस्किल हुने अवस्था छ । फेरिपनि सुरुदेखि नै दलहरुको मोलतोल र सांसदहरुको भाउँ कसेर किनबेच चल्ने भयो ।’

दलहरुले मतदाताको भावना र चाहनालाई सम्बोधन गर्न नसक्दा केही दल तथा सांसद भाग्यवस संसदको यात्रा तय गर्न सफल भएको उहाँले टिप्पणी गर्नुभयो । ओलीले अब बन्ने सरकारले फेरि पनि मुलुक र जनताको लागि काम गर्न नसक्ने दाबी गर्नुभयो । 

‘अब बन्ने सरकारले फेरि पनि जनता र मुलुक विकासको काम गर्न नसक्ने भयो’, ओलीले भन्नुभयो, ‘बहुमतको सरकार नबन्ने भएपछि दलहरु आफ्नो सरकार जोगाउन सांसदको मोलतोल, लेनदेख र भागबन्डामै लाग्दा ठीक्क हुन्छ ।’ पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले अब सरकार बनाउन र जोगाउन योग्यता भन्दा पनि टाउका हेरेर मोलतोल गर्नुपर्ने अवस्था सिर्जना भएको बताउनुभयो । 


प्रतिक्रिया