कोरोना बीमाको रकम भुक्तानी आजदेखि

रेडियो कान्तिपुर संवाददाता

मंसिर १३, २०७९

सरकारसँग शोधभर्ना माग्ने सर्तमा बीमा कम्पनीहरुले आजदेखि कोरोना बीमाको रकम भुक्तानी सुरु गर्दैछन् । नेपाल बीमा प्राधिकरणको निर्देशनअनुसार २५ प्रतिशत दायित्व स्वीकार नगर्ने तर पहिलो चरणमा वितरण गरेको थप रकम शोधभर्नाका लागि नियामक निकायमा लिखित आग्रह गर्ने बिमक संघको निर्णयपछि कम्पनीहरु कोरोना बीमा भुक्तानी गर्न तयार भएका हुन् । प्राधिकरणले गत साता सबै कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई बोलाएर आज देखि कोरोना बीमा भुक्तानी सुरु गर्न निर्देशन दिएको थियो । नियामक निकायबाट निर्देशन आए पनि तीन वटा कम्पनीले मात्र कोरोना बिमाको रकम भुक्तानी गर्नेबारे सञ्चालक समितिबाट निर्णय गराएका थिए ।

१७ वटाले हिजोम्म पनि त्यस्तो निर्णय गरेका छैनन् । बीमा भुक्तानी दिन भने कम्पनीहरु तयार भएका छन् । नेपाल सरकारको स्वीकृतिमा तत्कालीन बिमा समितिले जारी गरेको कोरोना बिमा मापदण्ड, २०७७ मा दाबी भुक्तानीको दायित्व बाँडफाँट भएको र ३ अर्ब ५० करोडभन्दा बढीको दाबी भुक्तानी सरकारले बेहोर्ने व्यवस्था छ । सो व्यवस्थाअनुसारको रकम निकासा नहुँदा धेरै बिमितलाई हालसम्म कोरोना बिमाको दाबी भुक्तानी गर्न नसकिएको बिमक संघले जनाएको छ । यसअघि पहिलो चरणमा कोरोना बिमाका १८ हजार १ सय ८२ जना बिमितले मात्र भुक्तानी पाउने भनिएको थियो । अब पुनर्बिमाले रकम नदिने भएपछि सो रकम घटाउँदा करिब १६ हजारले मात्र भुक्तानी पाउने संघले जानकारी दिएको छ । सरकारले दिएको एक अर्ब रुपैयाँ र आफ्नो ८ प्रतिशत दायित्वबापत १४ करोड ५४ लाख रुपैयाँ गरी कुल १ अर्ब १४ करोड ५४ लाख रुपैयाँ यसअघि नै बिमा प्राधिकरणले संघलाई दिइसकेको छ । सरकारले पैसा नदिएको भन्दै बिमा कम्पनीहरूले ०७७ चैतदेखि कारोना बिमाको भुक्तानी रोकेका थिए । 


प्रतिक्रिया