समानुपातिकतर्फ दलहरुको यस्तो छ पछिल्लो प्राप्त मत

रेडियो कान्तिपुर संवाददाता

मंसिर १६, २०७९

प्रतिनिधिसभाको समानुपातिकतर्फ एमालेले आफ्नो अग्रता कायम राखेको छ । १ करोड ३ लाख ७७ हजार ३ सय ९६ मतगणना सम्पन्न भएकोमा सुरु देखि नै अग्रता बनाएको नेकपा एमाले २७ लाख ७२ हजार २ सय ७३ मतसहित अग्रस्थानमा छ । सत्ताघटक प्रमुख दल नेपाली कांग्रेस २६ लाख ४२ हजार ६ सय २२ मतसहित दोस्रो स्थानमा छ । त्यस्तै ११ लाख ६१ हजार १ सय ५२ मतसहित सत्ताघटक माओवादी केन्द्र तेस्रो स्थानमा रहेको छ । चुनावको सम्मुखमा गठन भएको राष्ट्रिय स्वतन्त्र पार्टी ११ लाख १८ हजार ९ सय ९६ मतका साथ चौथो स्थानमा रहेर राष्ट्रिय पार्टी बन्ने आधार तय गरिसकेको छ ।

५ लाख ८५ हजार ८ सय ३० मतका साथ राष्ट्रिय प्रजातन्त्र पार्टी पाँचौ स्थानमा रहेको छ । जनता समाजवादी पार्टी जसपा ४ लाख २० हजार ९ सय २८ मतसहित छैटौं स्थानमा रहँदा जनमत पार्टीले ३ लाख ९४ हजार ३ सय ३५ मत ल्याएर थ्रेस होल्ड कटाइसकेको छ । यता, राष्ट्रिय पार्टी बन्न संर्घष जारी राखेको सत्ताघटक नेकपा एकीकृत समाजवादीले २ लाख ९४ हजार १० मत ल्याउदा नागरिक उन्मुक्ति पार्टी पार्टीले २ लाख ७१ हजार ६ सय ५७ मत हासिल गरेको छ । 


प्रतिक्रिया