समानुपातिक तर्फको सिट बाँडफाँटको गृहकार्य सुरु

रेडियो कान्तिपुर संवाददाता

मंसिर २१, २०७९

निर्वाचन आयोगले प्रतिनिधसभा तथा प्रदेशसभा चुनावको समानुपातिक प्रणाली तर्फको सिट बाँडफाँटको गृहकार्य सुरु गरेको छ । सबै क्षेत्रको मतगणना हिजो सकिएसँगै सिट बाँडफाँट प्रक्रिया अघि बढाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताउनुभयो । समानुपातिकमा पाएको सिट संख्याको आधारमा बन्दसूचीको क्लस्टरबाट निर्वाचित हुने उम्मेदवारको नामावली ३ दिन भित्र पठाउन आयोगले आज दलहरुलाई पत्राचार गर्दैछ ।

समानुपातिकमा ३ प्रतिशत मत कटाएका ७ दलको कुल ९२ लाख ७१ हजार ७ सय ९१ मतलाई आधार मानेर निर्वाचन आयोगले १ सय १० सिट बाँडफाँट गर्दैछ । समानुपातिकमा ३ प्रतिशत थेस्रहोल्ड नकटाएका विभिन्न दलले पाएका १२ लाख ८८ हजार २ सय ९१ मत भने खेर गएको छ ।

दलले महिला, दलित, आदिवासी जनजाती, खसआर्य, मधेशी, थारु, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक समुदाय तथा अपाङ्गता भएको व्यक्तिको प्रतिनिधित्व हुने गरि समानुपातिकबाट विजयी हुने उम्मेदवार छनौट गर्नुपर्ने हुन्छ । दलले प्रत्यक्ष र समानुपातिकमा पाएको सिट, राष्ट्रिय सभामा रहेका सदस्यका आधारमा समावेशी प्रतिनिधित्व गराउनुपर्छ । संघीय संसदमा दलले कम्तीमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउनुपर्ने बाध्यकारी व्यवस्था छ । यो व्यवस्था प्रदेशसभामा पनि लागुहुन्छ । 


प्रतिक्रिया