फोहोरमैला आफैँ व्यवस्थापन गर्न काठमाडौं महानगरको निर्देशन

रेडियो कान्तिपुर संवाददाता

मंसिर २१, २०७९

काठमाडौं महानगरपालिकाले सरकारी तथा निजी कार्यालयहरुलाई आ–आफ्नो कार्यालय परिसरभित्रको फोहोरमैला ३५ दिनभित्रै आफैं व्यवस्थापन गर्न आग्रह गरेको छ । महानगरपालिकाको वातावरण तथा कृषि विभागले आज सूचना जारी गर्दै सबै प्रकारका सरकारी तथा निजि कार्यालयले आफ्नो परिसरको फोहोर मैला आफैं व्यवस्थापन गरी शहरलाई सफा राख्न सहयोग गरिदिन आग्रह गरेको हो ।

सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसर नियमित सरसफाइ नगरेका कारण यत्रतत्र छरिएर रहेका पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोरमैलाले सहरको सुन्दरतामा कमी आएको भन्दै विभागले जनाएको छ । तोकिएको समयमा फोहोरमैला व्यवस्थापन नगरे दण्ड जरिवाना गरिने र फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्चसमेत असुल्ने चेतावनी विभागले दिएको छ । 


प्रतिक्रिया