सत्तारुढ गठबन्धनको बैठक आजपनि निष्कर्ष विहिन

पुस ९, २०७९ | काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको दावी गर्न दिएको समय नजिकिदै गर्दा सत्तारुढ गठबन्धनभित्र भावी सत्तासमीकरण थप पेचिलो बन्दै गएको छ । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भावी प्रधानमन्त्रीबारे सहमति हुन नसकेपछि गठबन्धनको आज बसेको बैठक पनि निश्कर्ष विहिन बनेको हो । 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा नेताहरुले आआफ्नै अडान कायम राखेपछि बैठक निश्कर्ष बिहिन बनेको हो । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नयाँ सरकारको नेतृत्व गठबन्धनले गर्ने भएकाले भोली सहमति हुने दाबी गर्नुभयो ।

कांग्रेसभित्र सरकारको नेतृत्व गर्नुपर्ने दवावबीचमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीको इच्छा व्यक्त गर्नुभएको छ । हिजो शीर्ष नेताहरुबीच सहमति हुन नसकेपछि शीर्ष नेताहरु आज बिहानैबाट आन्तरिक छलफलमा जुटेका थिए । 

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पुर्णबहादुर खड्का लगायतका नेताहरुले माओवादी केन्द्रका अध्यक्ष दाहाल र एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई भेटि सहमतिमा आउन आग्रह गरेका थिए । राष्ट्रपति भण्डारीले सरकार गठनको दावी प्रस्तुत गर्न दिएको समय भोलि साँझ ५ बजे सकिँदैछ ।

यसैबीच, नेपाली कंग्रेस, माओवादी केन्द्र, एकिकृत समाजवादीले सरकार गठनका लागि सांसदहरुको हस्ताक्षर संकलन गरेका छन् । संघीय संसदको पहिलो दल कांग्रेसले हिजो र आज दुई दिन सांसदहरुको हस्ताक्षर संकलन गरिसकेको छ । 

माओवादी केन्द्रका नेता देवेन्द्र पौडेलले ३२ सांसदहरुको हस्ताक्षर भइसकेको बताउनुभयो । त्यस्तै, एकिकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले १० सांसदहरुको हस्ताक्षर भइसकेको जानकारी दिनुभयो । 

४ सांसद रहेको लोकतान्त्रीक समाजवादी लोसपाले मुख्य दलहरुको सहमति पश्चात निर्णय गर्ने तयारी गरेको छ । एक सिट मात्रै रहेको राष्ट्रिय जनमोर्चाले गठबन्धनसंगै अघि बढ्ने यसअघि नै निर्णय गरिसकेको छ । 


प्रतिक्रिया