मधेस प्रदेशको सभामुखमा एमालेका मण्डल निर्वाचित

माघ ३, २०७९ | जनकपुर

मधेस प्रदेशको सभामुखमा नेकपा एमालेका सांसद रामचन्द्र मण्डल निर्वाचित हुनु भएको छ । एमालेका मण्डललाई सत्ता गठबन्धनका ८ दलको समर्थन थियो । मण्डलको पक्षमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पाटीर् (लोसपा) ले पनि मत हालेका छन् । 

धनुषा क्षेत्र नं. १ को (ख) बाट प्रदेश सभा सदस्यमा दोस्रो कार्यकालका लागि निर्वाचन मण्डलले ७४ मत पाएर सभामुखमा निर्वाचित बन्नु भएको हो । उहाँका प्रतिस्पर्धी कांग्रेसका जंगीलाल रायले २९ मत पाउनुभयो । रायलाई कांग्रेस र नेकपा एकीकृत समाजवादीका सांसदहरुले मत दिएका थिए । 

मंगलबारको प्रदेश सभा बैठकमा १ सय ३ जना सांसदको उपस्थिति थियो । मधेस प्रदेश सभामा १ सय ७ जना सांसद छन् । माओवादी केन्द्रका संसदीय दलका नेता भरतप्रसाद साहले एमालेका मण्डललाई निर्वाचित गरियोस् भनी गरेको प्रस्तावमा गर्नु भएको थियो । 

सो प्रस्तावमा एमालेका संसदीय दलका नेता सरोजकुमार यादव, जनमत पार्टीका संसदीय दलका नेता महेश यादव र जसपाका सांसद रामआशिष यादवले समर्थन जनाउनु भएको थियो । 

यस्तै, कांग्रेसका सांसद जंगीलाल रायलाई सभामुखमा निर्वाचित गरियोस भन्ने प्रस्ताव कांग्रेसका सांसद कुमरकान्त झाले प्रदेश सभाको बैठकमा पेश गरेका गर्नु भएको थियो भने कांग्रेस सांसद जिवछीकुमारी यादवले समर्थन जनाउनु भएको थियो ।

को हुन् मण्डल

मधेस प्रदेश सभाको सभामुखमा निर्वाचित एमाले सांसद मण्डल प्रदेश सभाको पहिलो कार्यकालमा माओवादी केन्द्रबाट निर्वाचित हुनु भएको थियो । धनुषाको निर्वाचन क्षेत्र नं. १ (२) बाट दोस्रो पटक प्रदेश सभामा विजयी हुनु भएका मण्डल प्रदेश सभाको पहिलो कार्यकालमा प्राकृतिक श्रोत तथा वातावरण समितिका सभापति समेत हुनुहुन्थ्यो । 

अध्यापन पेशामा रहेका मण्डल माओवादी जनयुद्धकालमा भूमिगत हुनु भएको थियो । माओवादी धनुषा जिल्लाको नेतृत्व समेत सम्हालिसकेका मण्डल नेकपा विभाजन हुँदा एमालेमै रहनु भएको थियो । त्यही कारण उहाँलाई माओवादी केन्द्रले प्रदेश सभा सांसद पदबाट निलम्बन गरेको थियो । प्रदेश सभाको दोस्रो कार्यकालमा मण्डल एमालेबाट चुनाव लड्नु भएको थियो । 


प्रतिक्रिया