धनकुटामा मनोरञ्जनात्मक कार्यक्रममा प्रशासनको रोक

माघ १५, २०७९ | धनकुटा

धनकुटामा सञ्चालन भइरहेको महोत्सवस्थलमा शनिवार राति भएको घटनापछि जिल्लामा आयोजना हुने भनिएका सम्पूर्ण मनोरञ्जनात्मक कार्यक्रममा रोक लगाइएको छ ।

धनकुटा ५ स्थित तल्लो टुडिखेलमा उद्योग वाणिज्य संघले आयोजना गरेको एभोकाडो तथा पाँचौ धनकुटा महोत्सवमा भएको झडपमा ३० जना घाइते भएपछि प्रशासनले मनोरञ्जनात्मक कार्यक्रममा तत्कालका लागि रोक लगाएको हो । दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

भीड अनियन्त्रित भइ महोत्सवस्थलको मुलगेटमा ठेलमठेल हुँदा भएको सो घटनामा ३ वर्षीय बालक सोनाम लिम्बु र धनकुटा ५ का ११ वर्षीय आवुहाड लिम्बुको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

दुवैको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख एसपी लक्ष्मीराज अधिकारीले जानकारी दिनुभयो ।

घटनापछि आज बसेको सुरक्षा समितिको बैठकले सो निर्णय गरेको हो । महोत्सवस्थलमा गरिँदै आएको सांस्कृतिक कार्यक्रम, विभिन्न खेल र मनोरञ्जनात्मक कार्यक्रम सञ्चालनमा रोक लगाएको निमिक्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले बताउनुभयो  


प्रतिक्रिया