एमाले मन्त्रीले बुझाए राजिनामा

चैत्र २१, २०७९ | जनकपुर

नेकपा एमालेका चारजना मन्त्रीले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई मंगलबार अपरान्ह राजिनामा बुझाएका छन् । मन्त्रीबाट राजिनामा गर्न मुख्यमन्त्री यादवले निर्देशन दिएपछि उनीहरु मन्त्री पदबाट राजिनामा गर्दै सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका छन् । गएराति मुख्यमन्त्री यादवले एमालेका संसदिय दलका नेता सरोजकुमार यादवलाई फोन गरेर सरकारबाट राजिनामा गर्न निर्देशन दिनु भएको थियो । संघीय सरकारमा गठबन्धन फेरिएलगत्तै मधेस सरकारबाट पनि एमाले अलग भएको छ । एमाले मधेस प्रदेशको संसदिय दलको आज बसेको बैठकले सरकारबाट मन्त्रीहरु फिर्ता बोलाउने निर्णय गरेको थियो । त्यही निर्णयको आधारमा एमालेका चारैजना मन्त्रीले मुख्यमन्त्री यादवलाई राजिनामा बुझाएका हुन् । मुख्यमन्त्री यादवले एमालेका मन्त्रीहरुलाई आज अपरान्हसम्म राजिनामा बुझाउन निर्देशन दिनु भएको थियो । मधेस प्रदेश सरकारमा एमालेका ४ मन्त्री छन् । एमालेका मन्त्रीले राजिनामा नगरे पदमुक्त गर्ने मूडमा मुख्यमन्त्री यादव पुग्नु भएको थियो ।

एमाले संसदिय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेश सभा मामिला, शत्रुधन प्रसाद सिंह गृह तथा सञ्चार र मोहम्मद जयद आलम महिला, वालवालिका, युवा तथा खेलकुद मन्त्री छन् । एमालेकी प्रदेश सांसद शारदादेवी थापाले मुख्यमन्त्री यादवले राजिनामा मागेकाले पार्टीका मन्त्रीहरुले राजिनामा बुझाएको बताउनुभयो । एमालेका मन्त्री हटाएर त्यस ठाउँमा कांग्रेसलाई ल्याउने तयारी भइरहेको मुख्यमन्त्री यादवनिकट स्रोतले जनाएको छ । कस–कसलाई मन्त्री बनाउने भनेर कांग्रेस पनि आन्तरिक छलफलमा जुटेको छ । 

कांग्रेसका संसदिय दलका नेता कृष्णा यादवले केन्द्रीय गठबन्धनअनुसार प्रदेश सरकारमा सहभागि हुने बताउनुभयो । कांग्रेसले भने मधेस प्रदेश सरकारमा मुख्यमन्त्रीकै दाबी गरिरहेको छ । जसपालाई उपराष्ट्रपति र बारा क्षेत्र नम्बर २ मा कांग्रेसले सघाएको भन्दै कांग्रेसले मधेस प्रदेशको नेतृत्व गर्नुपर्ने अडानमा छन् । कांग्रेसका मधेस प्रदेशका प्रमुख सचेतक कुमरकान्त झाका अनुसार सरकारको नेतृत्व नै लिएर कांग्रेस सरकारमा सहभागि हुने छ । मुख्यमन्त्री यादवनिकट स्रोतका अनुसार मधेस प्रदेश सरकारबाट जनमत पार्टीका मन्त्रीलाई पनि हटाउने तयारी भइरहेको छ । जनमत पार्टीबाट मधेस प्रदेश सरकारमा दुईजना मन्त्री छन् । बसन्तप्रसाद कुशवाहा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र महेशप्रसाद यादव शिक्षा, विज्ञान प्रविधि तथा बाणिज्य मन्त्री छन् । उप–राष्ट्रपतिको चुनावमा जनता समाजवादी पार्टी जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवको विरुद्धमा जनमत पार्टीले ममता झाको उम्मेदवारी दिएको थियो । 

बारा–२ को निर्वाचनमा पनि जनमत पार्टीले जसपाका अध्यक्ष उपेन्द्र यादवको बिरुद्धमा उम्मेदवारी दिएपछि मधेस प्रदेश सरकारबाट हटाउने तयारी भइरहेको स्रोतको भनाई छ । मधेस प्रदेशसभामा एकसय ७ सदस्य छन् । बहुमतका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । प्रदेशसभामा नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, जनता समाजवादी पार्टीका १६, जनमत पार्टीका १३, लोकतान्त्रिक समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका ९–९, नेकपा एकीकृत समाजवादी ७, नागरिक उन्मुक्ति, राप्रपा र नेपाल संघीय समाजवादीका एक–एकजना सांसद छन् । एमाले र जनमत मधेस सरकारबाट हटेपछि मुख्यमन्त्री यादवलाई सरकार टिकाइराख्ने बहुमत भने पुग्छ । कांग्रेसको २२, जसपाको १६, लोसपाको ९, माओवादीको ९, नेकपा(एस)को ७, राप्रपा, संघीय समाजवादी र नागरिक उन्मुक्तिसहित ३ सांसद र स्वतन्त्र सांसद ६ जना छन् । मुख्यमन्त्री यादवसंग एकजना स्वतन्त्र सांसदवाहेक ५ जनाको समर्थन छ । त्यो जोड्दा मुख्यमन्त्री यादवसंग ७१ सांसदको समर्थन पुग्छ । 


प्रतिक्रिया