मधेस प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरियो

जेष्ठ ९, २०८० | जनकपुर

मधेस प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले गठबन्धनमा भएको सहमतिअनुसार नचलेको भन्दै माओवादी केन्द्रले मधेस प्रदेश सरकारबाट आफ्ना एक मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएको छ । गत साता काठमाण्डौंमा गठबन्धन दलका शीर्ष नेता र मधेसका सत्तारुढ दलका संसदिय दलका नेताहरुको उपस्थितीमा भएको छलफलमा मधेस प्रदेशमा आलोपालो मुख्यमन्त्री र आपसी समझदारीमा मन्त्री नियुक्त गर्ने सहमति भएको थियो । माओवादीका मधेस प्रदेशका एक सांसदका अनुसार मुख्यमन्त्री यादवले गठबन्धनमा भएको सहमतिलाई नटेकेर आफूखुशी मन्त्रीमण्डल पूर्नगठन गरेको भन्दै सरकारबाट माओवादी बाहिरिएको हो ।

मुख्यमन्त्री यादवले आज कांग्रेस, एकीकृत समाजवादीबाट मन्त्री थपेपछि सत्ता गठबन्धनमा रहेका जनमत र लोसपा समेत रुष्ट भएका छन् । तीनवटै दलको अहिले संयुक्त बैठक बसीरहेको छ । सरकारबाट बाहिरिने र मुख्यमन्त्री यादवलाई दिएको समर्थन फिर्ता लिने विषयमा बैठकमा छलफल भइरहेको एक सांसदले बताए । माओवादी केन्द्र सरकारबाट बाहिरिएपछि मुख्यमन्त्री यादव सकसमा पर्नु भएको छ ।

यसैबीच मधेश प्रदेश सरकार पुनगर्ठन भएसंगै तीन जना मन्त्रीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । मुख्यमन्त्री सरोज कुमार यादवले नवनियुक्त मन्त्रीहरु कांग्रेसबाट भौतिक पुर्वाधार तथा विकास मन्त्रीमा कृष्ण कुमार यादव, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा विरेन्द्र कुमार सिंह र एकीकृत समाजवादीबाट कृषि मन्त्रीमा गोविन्द बहादुर न्यौपानेलाई सपथ ग्रहण गराउनु भएको हो । 


प्रतिक्रिया