तीन दलको असन्तुष्टीबीच मधेशको मन्त्रीमण्डल विस्तार
जेष्ठ ९, २०८०
सत्ता साझेदार तीन दलको असन्तुष्टिका बीच नेपाली कांग्रेसका दुई तथा एकीकृत समाजवादीका एक गरि तीन जनाले मधेस प्रदेशमा मन्त्री पदको शपथ ग्रहण गरेका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रले नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई भौतिक पुर्वाधार विकास मन्त्री र बिरेन्द्रप्रसाद सिंहलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री र एकीकृत समाजवादीका गोबिन्दबहादुर न्यौपानेलाई भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीको पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । असंतुष्ट माओवादी केन्द्रले भने आफ्ना दुई मन्त्री फिर्ता बोलाउने निर्णय गरेको छ । सत्ता साझेदार माओवादी केन्द्र, जनमत र लोकतान्त्रिक समाजवादी पार्टीको असन्तुष्टिको कारण शपथ ग्रहण समारोह निर्धारित समयभन्दा झण्डै दुई घण्टा ढिलो सुरु भएको थियो ।
लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलका नेता अभिराम शर्माले सत्ता साझेदार दलका शिर्ष नेताहरुले गरेको निर्णय तथा आशय विपरित मुख्यमन्त्री सरोजकुमार यादवले एकलौटी गरेको तीनै दलका नेताहरुको भनाई छ । मुख्यमन्त्रीले चोर बाटोबाट मन्त्रीमण्डल विस्तार गरेको उनीहरुको आरोप छ । माओवादी केन्द्र संसदीय दलको बैठकले मधेस प्रदेशमा रहेका दुबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको हो । माओवादी केन्द्रका सुनिता यादव उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री तथा रहबर अन्सारी राज्यमन्त्री थिए । माओवादी केन्द्र संसदीय दलका नेता भरत साहले माओवादी संसदीय दलको बैठकले मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको बताउनुभयो । केन्द्रिय सहमति विपरित भएको मन्त्रीपरिषद विस्तारप्रति असहमति रहेको उहाँको भनाई थियो ।
यसैबीच मुख्यमन्त्री सरोजकुमार यादवले सत्ता साझेदार दलहरुबीचको समस्या एकसाताभित्र समाधान हुने दावी गर्नुभयो । माओवादी केन्द्र, लोकतान्त्रिक समाजवादी र जनमत पार्टीले मुख्यमन्त्री वाहेकका बांकी मन्त्रालयहरुको भागबण्डा सहमतिमा गर्नु पर्ने दवाव दिदै आएका थिए । मन्त्रालयको भागबण्डा मिलाउने सहमति भएपनि मुख्यमन्त्री यादवले एकलौटी गरेको जनमत पार्टीका संसदीय दलका नेता महेश यादवले आरोप लगाउनुभयो । दलहरुको असंतुष्टि संवोधन गर्न मुख्यमन्त्री यादवले गृह, संचार तथा कानून, वन तथा वातावरण एवं श्रम तथा यातायात मन्त्रालय आफैंसंग राख्नु भएको छ । मधेस प्रदेशमा गत पुस २९ गते मुख्यमन्त्री सरोजकुमार यादवसंगै एमाले, जनमत र माओवादी केन्द्रका १/१ जना गरि चार सदस्यीय मन्त्रीमण्डल गठन भएको थियो ।
माघ २० गते १० मन्त्री र ३ राज्यमन्त्री गरि १३ सदस्यीय तथा माघ २४ गते ११ मन्त्री र ४ राज्यमन्त्री गरि १५ सदस्यीय मन्त्री मण्डल विस्तार गरिएको थियो । केन्द्रको सत्ता गठबन्धनबाट एमाले बाहिरिएपछि मधेस प्रदेश सरकारबाट नेकपा एमालेका मन्त्रीहरु फिर्ता भएका थिए । त्यसयता नेपाली कांग्रेस र एकीकृत समाजवादी पार्टीसमेतको सहभागितामा आज मन्त्री मण्डल विस्तार भएको हो ।