सुनको जलहरी लगायत विषयमा छानविन गर्न माओवादी केन्द्रद्धारा संसदीय छानविन समितिको माग

जेष्ठ १२, २०८० | काठमाडौं

तत्कालिन एमाले नेतृत्वको सरकारका समयमा भएका भनिएका आर्थिक अनियमिताको छानविन गर्न सत्तारुढ माओवादीले संसदीय छानविन समितिको माग गरेको छ ।

यती, ओम्नी, वाइड बडी, बालुवाटार जग्गा प्रकरण, गोकर्ण रिसोर्टको जग्गा प्रकरण, स्वास्थ्य सामग्रीमा भएको अनियमिता र पशुपतिनाथमा जलहरी लगाउँदा सुन भनेर पित्तल लगाएको विषयको छानविन गर्न संसदीय छानविन समिति बनाउन माग गरेको हो । 

सरकारको नीति तथा कार्यक्रममाथि छलफल हुने क्रममा बुधबार माओवादी सांसद लेखनाथ दाहालले तत्कालिन एमालेको सरकारका पालामा भएका भनिएका सबै अनियमिताको छानविनको माग गर्नुभएको थियो । सोहि विषयलाई लिएर आज एमालेले संसद अबरुद्ध गरेपछि माओवादी सांसद दाहालले संसदीय छानविन समितिको माग गर्नुभएको हो । संसद बैठक पछि प्रतिक्रिया दिदै दाहालले सत्य—तथ्यको माग गर्दा संसदीय मर्यादा विपरित नहुने भन्दै संसदीय छानविन समिति गठन गर्नुपर्ने माग गर्नुभयो ।

यसैबीच, प्रतिपक्षी नेकपा एमालेले पशुपतिनाथ मन्दिरमा राखिएको सुनको जलहरी लगायत हुँदै नभएको विषय उठाएको भन्दै संसद अबरुद्ध गरेको थियो । बैठकको सुरुमै एमालेका प्रमुख सचेतक पदम गिरीले सत्तारुढ दलका सांसदले झुटो आरोप लगाएको भन्दै गलत प्रचार गरेको दावी गर्नुभयो ।

त्यस्तै, एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले कारबाही गर्ने स्थानमा बसेर आधारहीन कुरा राख्न नहुने बताउनुभयो । २० मिनेटका लागि स्थगित भएको बैठक ६ बजे बस्ने भनिएपनि अहिलेसम्म बस्न सकेको छैन । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम थियो ।


प्रतिक्रिया