कोशी प्रदेशको बजेट अधिवेशन सुरू

फाइल फोटो  

जेष्ठ १४, २०८० | मोरङ

प्रदेश नामाकरणको विरोधमा प्रदर्शन जारी रहँदा कोशी प्रदेशसभाको बजेट अधिवेशन सुरू भएको छ । प्रदेशसभा भवन बाहिर नामाकरणको विरोधमा प्रदर्शन चर्किएपछि कडा सुरक्षाकाबीच अधिवेशन सुरु भएको जनाइएको छ । बैठकको शून्य समयमा बोल्ने अधिकांश प्रदेशसभा सदस्यले नामाङ्कन बिरूद्ध आन्दोलनरत पक्षसँग तत्काल वार्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनीहरूले आन्दोलनरत पक्षसँग वार्ता टोली गठन गर्न माग गरेका हुन । यसैबीच, कोशी प्रदेश नाम खारेजीको माग गर्दै विराटनगरस्थित प्रदेशसभा घेराउ गर्न जाने क्रममा निषेधित क्षेत्र तोड्ने ४५ जना पक्राउ परेका छन् । प्रदर्शनकारीले विराटनगरको देवकोटा चोकमा निषेधित क्षेत्र तोडेर प्रदेशसभातर्फ जान खोजेपछि उनीहरुलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी मोरङ प्रमुख दीपक पोखरेलले बताउनुभयो ।

स्थानीय प्रशासनले प्रदेशसभा, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मुख्यमन्त्री निवास, प्रदेश प्रमुखको कार्यालय लगायतका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गर्दै सुरक्षा व्यवस्था कडा पारेको छ ।


प्रतिक्रिया