राष्ट्रपति पौडेलद्वारा नागरिकता सम्बन्धी विधेयक प्रमाणिकरण

जेष्ठ १७, २०८० | काठमाडौं

राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण गर्नुभएको छ । राष्ट्रपतिका कानूनी सल्लाहकार बाबुराम कुँवरले नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण भएको जानकारी दिनुभयो । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सो विधेयकलाई प्रमाणीकरण गर्न अस्वीकार गर्नुभएको थियो । संसदका दुबै सदनले पारित गरेको नागरिकता विधेयक २०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति भण्डारी समक्ष प्रमाणीकरणका लागि पठाइएको थियो ।

विधेयकमा चित्त नबुझेको भन्दै उहाँले ८ बुँदाको सरोकार उल्लेख गरेर संसदलाई फिर्ता पठाउनुभएको थियो । दुबै सदनले दोस्रो पटक विधेयक हुबहु पारित गरेर भदौ २० मा राष्ट्रपति समक्ष पठाएको थियो । १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने संवैधानिक व्यवस्था भएपनि भण्डारीले प्रमाणीकरण नगरेपछि विधेयक अलपत्र परेको थियो । त्यही विधेयक सत्ता गठबन्धनको सुझावमा राष्ट्रपति पौडेलले ९ महिनापछि प्रमाणीकरण गर्नुभएको हो । 


प्रतिक्रिया