मुख्यमन्त्री यादवले विश्वासको मत लिदैं

जेष्ठ ३०, २०८०

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिनुहुने भएको छ । एमाले सरकारबाट बाहिरिएको ३० दिनसम्म विश्वासको मत लिन आलटाल गर्दै आएका मुख्यमन्त्री यादवले कानूनी अड्चनबाट बच्न फेरि विश्वासको मत लिन लाग्नुभएको हो । 

यसअघि, प्रदेशसभाका शतप्रतिशत सांसदको विश्वासको मत पाएका मुख्यमन्त्री यादवले एमाले बाहिरिए पनि सरकारसँग दुई तिहाइ सांसदको समर्थन रहेको भन्दै विश्वासको मत लिन आलटाल गरिरहनुभएको थियो । ३० दिनभित्र विश्वासको मत नलिए कानूनी झमेला आउन सक्ने भएपछि कानून व्यवसायीको सल्लाह अनुसार यादवले प्रदेश सभाको आकस्मिक बैठक बोलाएर विश्वासको मत लिन लाग्नुभएको हाम्रा सहकर्मीले जनाएका छन् । 

प्रदेश सभा सचिवालयले आज अपरान्ह ५ बजेका लागि प्रदेश सभाको बैठक बोलाइएको जनाएको छ । मुख्यमन्त्री यादवसँग असन्तुष्टी जनाउँदै सरकारबाट मन्त्री फिर्ता बोलाएको माओवादी केन्द्रले पनि विश्वासको मत भने दिने बताएको छ । माओवादीका प्रदेश सांसद युवराज भट्टराईले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने बताउनुभयो । विपक्षी एमालेले विश्वासको मत दिने जसपाले दाबी गरेपनि एमालेको आधिकारिक धारणा आउन बाँकी छ । 


प्रतिक्रिया