भारतीय पक्षले पानी नदिँदा रोपाइँ हुन सकेन

असार १६, २०८० | पर्सा

नहरको मर्मत सम्भार भइरहेको भन्दै भारतीय पक्षले पर्याप्त पानी नदिएपछि गण्डक नहरमा आश्रित किसानको रोपाइँ प्रभावित बनेको छ । भारतको झमरी नदीमा नहरको संरचनामा चुहावट भएको भन्दै पानी नदिएपछि गण्डक नहरमा आश्रित पर्सा, बारा, रौतहटका किसान समस्यामा परेका हुन् ।

हाल भारतीय पक्षले नहरमा करीब २ सय क्युसेक मात्र पानी छोडेपछि पर्सामा रोपाइँका लागि पर्याप्त पानी नभएको नारायणी सिंचाई व्यवस्थापन कार्यालयका सूचना अधिकृत सुरेश साहले बताउनुभयो । भारतसँगको गण्डक सम्झौता अनुसार बर्सेनि धान बालीका लागि असार १५ र गहुँ बालीका लागि पुस १० देखि नहरमा ८ सय ५० क्युसेक पानी दिई सक्नुपर्छ ।

साहका अनुसार एक साता अघिदेखि भारतीय पक्षले नहरमा मर्मत सम्भारको काम गरिरहेको छ । चुहावट भएको स्थानमा मर्मत गरेर पानी छोड्न थप ३/४ दिन लाग्ने भारतीय पक्षले बताएको नारायणी सिंचाई व्यवस्थापन कार्यालयका सूचना अधिकृत साहले जानकारी दिनुभयो । किसान संघ पर्सा अध्यक्ष असर्फी साहले गण्डक नहरमा सम्झौता अवधिमा पानी नआउँदा पर्सा, बारा, रौतहटका किसान समस्यामा परेको बताउनुभयो । 


प्रतिक्रिया