नारायणगढ मुग्लिन सडक मध्यरातदेखि अवरूद्ध

असार १७, २०८० | चितवन

चितवनको मुग्लिन नजिक तुइन खोलामा फेरि पहिरो जाँदा नारायणगढ मुग्लिन सडक गएराति देखि नै अवरूद्ध छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितले गएराति साढे ११ बजेबाट पहिरो खसेर बाटो बन्द भएको जानकारी दिनुभयो ।

बिहान पाँच बजेदेखि पहिरो सफा गर्न सुरू भए पनि पहिरो ठुलो भएका कारण बाटो खुल्न केही समय लाग्ने डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख रमेशप्रसाद पौडेलले बताउनुभयो । पौडेलका अनुसार पहिरो सफा हुन दुई चार घण्टा लाग्न सक्छ ।

मुग्लिनदेखि लगभग दुई किलो मिटरको दुरीमा पर्ने इच्छाकामना गाउँपालिका–५ को तुईन खोला नजिक गएको बुधबार रातिदेखि नै साना ठुला ढुंगा खस्न सुरू भएको थियो । बिहिबार दिउँसो ठुलै पहिरो खसेपछि लगातार २८ घण्टासम्म बाटो थुनिएको थियो । हिजो ठुलो पहिरो नआए पनि पटक पटक बाटो रोक्ने गरी ढुंगा माटो झरेको थियो ।


प्रतिक्रिया