कोशीको मुख्यमन्त्रीमा थापा दोस्रो पटक नियुक्त

श्रावण १६, २०८०

गठबन्धन दल कांग्रेसका नेता उद्धव थापा दोस्रो पटक कोशीको मुख्यमन्त्री नियुक्त हुनु भएको छ । सभामुख बाबुराम गौतमले सरकार गठनका लागि बहुमत पुर्‍याउन पदबाट राजीनामा दिएर दावी पेस गरेपछि प्रदेश प्रमुख पर्शुराम खापङले थापालाई मुख्यमन्त्री नियुक्त गर्नु भएको हो । दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनै पर्ने बाध्यात्मक संवैधानिक व्यवस्था छ । मुख्यमन्त्रीमा नियुक्त भएपछि थापालाई विश्वासको मतका लागि राप्रपाको समर्थन अपरिहार्य छ । तर राप्रपाले गठबन्धनको सरकारलाई समर्थन नगर्ने प्रष्ट पारिसकेकाले उहां नेतृत्वको सरकार ३० दिनका लागि मात्रै हुने देखिएको हो ।

 त्यसपछि प्रदेशसभाको सबभन्दा धेरै सदस्य भएका दल एमालेका नेता हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त हुने अवस्था आउने देखिएको छ । सरकार गठनका लागि ९३ सदस्यीय प्रदेशसभामा ४७ सांसदको समर्थन आवश्यक छ । तर गठबन्धन दल कांग्रेसका २९, माओवादीका सभामुख बाहेक १२, एकीकृत समाजवादीका ४ र जनता समाजवादी पार्टीका एक गरी ४६ मात्रै सांसद रहेकाले सभामुख गौतमलाई राजीनामा गराएर बहुमत पुर्‍याइएको हो । एमालेको ४० र राप्रपाको ६ प्रदेश सांसद छन् । 

सभामुख गौतमले राजीनामा नदिएको अवस्थामा सरकार गठनका लागि गठबन्धन दलको बहुमत नपुग्ने र त्यसपछि संविधानको धारा १६८ को उपधारा (३) अनुसार एमालेका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार गठन हुने भएकाले प्रधानमन्त्री दाहालको पहलमा गौतमले पदबाट राजीना दिनु भएको हो । गौतमलाई सभामुख पद छोडेकाले मन्त्री बनाउने निष्कर्षमा पार्टी पुगेको माओवादीका एक सांसदको भनाइ छ । तर गौतम मन्त्रीमा जाने नजाने अहिले नै भने निर्णय भइसकेको छैन ।

सर्वोच्च अदालतले तटस्थ भूमिकामा रहेका सभामुख बाबुराम गौतमको समर्थनमा प्रदेश प्रमुख खापुङले गठबन्धन दल कांग्रेसका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गर्ने गरेको निर्णय गत विहिबार बदर गर्दै परमादेश जारी गरेपछि खापुङले सरकार गठनका लागि आहृवान गर्नु भएको थियो । उहांले संविधानको धारा १६८ को उपधारा (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा नियुक्तिका लागि आज बेलुका ५ बजेभित्र दाबी पेस गर्न गत शुक्रबार आहृवान गर्नु भएको थियो । 


प्रतिक्रिया