मुख्यमन्त्री थापाको सपथ ग्रहण ५ बजे

श्रावण १७, २०८० | मोरङ

माओवादी केन्द्रमा मन्त्री छान्ने विवाद चुलिएपछि कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाको सपथ ग्रहण आज साँझ पाँच बजेका लागि सारिएको छ । नवनियुक्त मुख्यमन्त्री थापाले बिहान सपथ ग्रहण गर्ने समय तोकिएपनि माओवादीले मन्त्रीको टुंगो नलगाएपछि सपथ ग्रहण सारिएको हो ।

सभामुखबाट राजिनामा दिएका बाबुराम गौतमलाई आर्थिक मामिला तथा योजनामन्त्री बनाउने तयारीकाबीच जीवन आचार्यले पनि मन्त्रीमा दाबी गर्दा माओवादीमा विवाद सिर्जना भएको छ । मुख्यमन्त्री थापाले माओवादीभित्र मन्त्री छनोटमा भएको ढिलाइ र मन्त्रिपरिषद्को कार्यविभाजनमा समय लाग्ने भएकाले सपथ ग्रहण कार्यक्रम सारिएको बताउनुभएको छ ।

मुख्यमन्त्री थापाले जनता समाजवादी पार्टी बाहेक गठबन्धन दल कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादीबाट एक/एक जनासहित चार सदस्यीय मन्त्रीमण्डल बनाएर सपथ ग्रहण गर्ने तयारी गर्नुभएको थियो । जसपा पहिचान पक्षधरको माग सम्बोधन नभएसम्म सरकारमा सहभागी नहुने बताएको छ ।


प्रतिक्रिया