डा.कर्णविरुद्ध संगठित अपराधसहित तीन मुद्दा

भाद्र १०, २०८० | विराटनगर

लाखौं रुपैयाँ लिएर निःसन्तान दम्पतिलाई नवजात शिशु बेच्दै आएको आरोपमा पक्राउ परेका कोशी अस्पतालका पूर्वमेसु डा.तपेश्वरलाल कर्ण विरुद्ध प्रहरीले संगठित अपराध, व्यक्ति बेपत्ता र मानव बेचबिखन अपराधमा मुद्दा चलाउन जिल्ला सरकारी वकील कार्यालयलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।

उनको अकृत सम्पतिको छानबिन गर्न सम्बन्धित निकायलाई प्रहरीले पत्राचार गरेको छ । डा. कर्ण नेतृत्वको शिशु बेचबिखन गिरोहको वारिपारिकै केन्द्रीय स्तरको राजनीतिक हस्तीसम्म राम्रै पहुँच भएको खुलिरहेको प्रहरीले जनाएको छ । उनी सहितको नेपाली चिकित्सकले भारतका विभिन्न राज्यका नागरिकलाई समेत शिशु बेचेको जानकारी आएकाले अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) को समेत मद्दत लिने प्रहरीले जनाएको छ ।

मोरङ प्रहरी प्रवक्ता डिएसपी रञ्जन कुमार दाहालका अनुसार कर्णको विरुद्ध उल्लेखित तीनटै शीर्षकमा मुद्दा चलाउने तयारी गरेका छौं । ‘सुगर स्तर घटेर डा.कर्ण पुनः अस्पताल भर्ना भएका कारण बयान पुरा हुन नपाएर थप अदालती प्रक्रिया रोकिएको छ, छैन,’ दाहालले भने, ‘बाँकी पक्राउ र साक्षीहरुको बयान लिइ सकिएको छ ।’

उच्च रक्तचाप एवं मधुमेहका रोगी डा. कर्ण शनिबार पुन ः कोसी अस्पताल भर्ना भएका छन् । उनलाई साँझ बिहान इन्सुलेन्सको सुई लगाउनु पर्ने भएपछि अस्पताल भर्ना गरिएको प्रहरीले बताएको छ ।

डा.कर्णले पछिल्लो पटक भोजपुर हतुवागढी–४ का २७ वर्षीय अविवाहित गोविन्द राई र उनकी प्रेमिका २६ वर्षीयाको सम्बन्धबाट असार १४ मा ग्रिनक्रस अस्पतालमा जन्मिएकी शिशुलाई मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलका सूर्यनारायण राजवंशी दम्पतीलाई ५ लाख रुपैयाँमा बिक्री गरेको पुष्टि भएको थियो । प्रहरीले उनी सहित अपराधमा संलग्न ५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । उनले ति शिशुको व्यवस्थापनका लागि अविवाहित बुबासँग पनि ३५ हजार रुपैयाँ लिएको पुष्टि भएको छ ।

डा. कर्णको अकुत सम्पती छानबिनका लागि सम्बन्धित निकायमा पत्रचार गरिसकिएको र बैंक स्टेट्मेन्टका लागि राष्ट्र बैंकलाई पत्रचार गरिएका डीएसपी दाहालले बताए । चिकित्सक पेसामा संलग्न हुनु भन्दा अगाडि सामान्य आर्थिक अवस्थाका डा.कर्णले अवैध गर्भपतन गराउने तथा शिशु बेचबिखनबाट अर्बौंको सम्पती जोडेको सुराक हात परेपछि उनको सम्पति छानबिनको प्रक्रिया थालिएको दाहालले बताए ।

झन्डै तीन दशक अगाडि विराटनगर आउँदा डा.कर्णको आर्थिक अवस्था प्रायः शून्य थियो । हेर्दाहेर्दै उनको आर्थिक हैसियत अस्वाभाविक ढंगले बढेको देखिन्छ । सुरुमा हालको दिपेश मेडिकल क्लिनिक खरिद गरेको केही समयमै कर्णले विराटनगरका विभिन्न स्थानमा जमिन किन्ने र घर बनाउने अभियान थाले । उनले विराटनगर–७ कोशी अस्पताल अगाडि चार तले भवन बनाए । त्यही कोइराला निवास नजिकै अढाइ कठ्ठा जमिनसमेत किनेको खुलेको छ ।

वीरेन्द्र सभागृह अगाडि घडेरी किनेर घर बनाए । विराटनगर–२ तिनपैनी चोकको सोमबारे हाटमा आफू बस्ने तीन तले आलिसान भवन बनाए । उनका निकटका अनुसार उनले विराटनगर बसपार्क छेउमा १५ धुर घडेरी किने । त्यति मात्र होइन, मोरङ बुढीगंगा गाउँपालिकाको हात्तीमूढामा अढाइ बिघा खेती किने । काठमाडौंको बूढानीलकण्ठमा आठ आनामा भव्य घर बनाए । भारत दिल्लीको गुडगाउँमा समेत घर खरिद गरेको पाइएपछि प्रहरीले सम्पति छानबिन प्रक्रिया सुरु गरेको बताएको छ ।

२०५२ मा कोशी अस्पताल आएपछि झन्डै अढाइ दशक स्त्री एवं प्रसूति रोग विभागमा काम गरेर सेवा निवृत्त भएका उनी २०७० चैत १९ देखि २०७१ असोज १४ सम्म उक्त अस्पतालको मेडिकल सुपरिन्टेन्डेन्ट समेत थिए ।

डा. कर्ण पक्राउ गरेपछि सो कार्यमा विराटनगरका अन्य प्रसूति रोग विषेशज्ञ पनि संलग्न भएको प्रहरीले आशंका गरेको छ । एमबीबीएस एमडीजीपी गरेका डा.कर्णको निजी दिपेश मेडिकल क्लिनिकसहित उनले प्रसूति गराएका विराटनगरका आधा दर्जन नीजि अस्पतालमा प्रहरीले अनुसन्धान थालेको छ ।

प्रहरीका अनुसार डा. कर्ण संलग्न गिरोहले छिमेकी भारतका प्रभावशाली नेताहरु सम्म पहुँच बनाइ विभिन्न राज्यमा समेत शिशु बेचबिखन गरेको जानकारी आएको छ । यो निकै गंभीर प्रकृतिको अपराध भएको, पक्राउ र शंकास्पदको वारिपारिकै केन्द्रीय स्तरका राजनीतिक हस्तीसम्म पहुँच भएकोले तहसम्म पुग्नका लागि सीबीआईले समेत सघाउने भएको प्रहरीले जनाएको छ । 


प्रतिक्रिया