प्रधानमन्त्री दाहाल र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

आश्विन ६, २०८० | काठमाडौं

चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच औपचारिक भेटवार्ता भएको छ ।

चीनको हाङचाउमा उहाँहरूबीच औपचारिक भेटवार्ता भएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ । १९ औं एसियाली खेलकुदको उद्घाटन समारोहअघि भेटवार्ता भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

संयुक्त राष्ट्रसंघको महासभा सहभागी भई प्रधानमन्त्री दाहाल आज विहान अमेरिकाको न्युयोर्कबाट चीन पुग्नुभएको थियो । न्युयोर्कबाट परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्र सचिव भरतराज पौड्याल र परराष्ट्र मन्त्रालयका अन्य अधिकारीसहित प्रधानमन्त्री दाहालको टोली चीन पुगेको हो ।

प्रधानमन्त्री दाहाल हाङचउबाट भोलि बेइजिङ जाने तालिका छ । त्यहाँ सोमबार चिनिांयाँ समकक्षी ली छियाङसँग द्विपक्षीय भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा दुई देशवीच केही महत्वपूर्ण सम्झौता गर्ने तयारी भएको छ । तेस्रोपटक प्रधानमन्त्री बने पछि दाहालको यो पहिलो चीन भ्रमण हो ।


प्रतिक्रिया