कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिने

आश्विन २९, २०८० | विराटनगर

कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पर्सि बुधबार विश्वासको मत लिनु हुने भएको छ । मुख्यमन्त्री कार्कीले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने सूचना प्रदेशसभा सचिवलाई दिनु भएको छ ।

प्रदेशसभा नियमावलीको नियम १२८ बमोजिम मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने प्रस्तावको सूचना प्रदेशसभा सचिवलाई सूचना दिएको प्रदेशसभाका प्रवक्ता गौतमराज आमात्यले जानकारी दिनुभयो । नियम अनुसार विश्वासको मत लिने प्रस्तावमाथि छलफल हुनुभन्दा दुई दिन अगाडि प्रदेशसभा सचिवलाई सूचना दिनुपर्ने व्यवस्था छ ।

संविधानको धारा १६८ को उपधारा (५) अनुसार शनिबार मुख्यमन्त्री नियुक्त हुनु भएका कार्कीले तत्काल विश्वासको मत लिन लाग्नु भएको हो । कांग्रेसबाट विद्रोह गरेका ८ र एमालेका ३९ प्रदेश सांसदको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले सत्ता गठबन्धनको दबाबका बीच एमाले सहितको सरकार गठन गर्नु भएको छ । एमालेका उपनेता रामबहादुर मगर र कांग्रेस शम्शेर राईलाई मन्त्री नियुक्त गरिए पनि जिम्मेवारी भने तोकिएको छैन ।

मुख्यमन्त्री कार्कीलाई गठबन्धनले एमालेको समर्थनमा विश्वासको मत नलिन समेत दबाब दिइरहेको स्रोतले दाबी गरेको छ । तर, संविधानको धारा १६८ को उपधारा (४) अनुसार विश्वासको मत लिन नसकेको अवस्थामा प्रदेश मध्यावधी निर्वाचनमा जाने जोखिम रहेकाले प्रदेश सांसदको दबाबमा उहाँले तत्काल विश्वासको मत लिन बाध्य भएको प्रदेशसभा एक सदस्यले बताए ।

यसैबीच, मुख्यमन्त्री कार्कीले विश्वासको मत लिएपछि मन्त्रिमण्डल बिस्तार गर्ने तयारी गर्नुभएको छ । मन्त्रिमण्डलमा संस्थापन पक्षलाई समेत सहभागी गराइने गृहकार्य भइरहेको र यसमा केन्द्रीय गठबन्धनको निर्णय अनुसार अघि बढ्ने तयारी सरकारको छ ।


प्रतिक्रिया