मृतक ६ जनाकै पहिचान खुल्यो (अपडेट)

कार्तिक ५, २०८०

पाल्पाको पर्यटकीय स्थल रानीमहलबाट सदरमुकाम तानसेनतर्फ आउंदै गरेको जिप तानसेन नगरपालिका–१३, बैकुण्ठे पहाडबाट बराङ्गदी खोलामा खस्दा ६ जनाको मृत्यु भएको छ । दुर्घटनामा जीप चालक घाइते भएका छन् । मृत्यु हुनेमा तीन महिला, दुई बालबालिका र एक पुरुष रहेको प्रहरीले जनाएको छ । 

जीप दुर्घटनामा नवलपरासी पुर्व देबचुली नगरपालिका–१६, रजहरका ६० वर्षिया पार्वती लोहनी, सोही स्थानकै ६५ वर्षिय कृष्ण बहादुर लोहनी, ११ वर्षीय सविस लोहनी, साढे दुई वर्षका ईसव लोहनी, ३५ वर्षिया सविना ढिताल र लमजुङ्ग बेशीशहर २, भकुण्डेकी ५५ वर्षिया चुना धितालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ । दुर्घटनामा घाइते भएका चालक देबचुली नगरपालिका–१६, रजहरका ३६ वर्षीय इश्वर लोहनीको तानसेनस्थित युनाईट मिसन अस्पतालमा उपचार भैरहेको छ । घाइते चालकको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो ।

 जिप पर्यटकीयस्थल रानीमहल घुम्न गएकाहरुलाई लिएर तानसेनतर्फ फर्केको जीप उकालोमा पछाडि हटेर दुर्घटनामा परेको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनास्थल खोाच रहेको र उद्दारमा कठिनाई भएको थियो । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय बासिन्दाको सहयोगमा घाइते तथा मृतकको उद्दार गरिएको हो । दुर्घटनाग्रस्त जीप बैकुण्ठ पहाडबाट बराङ्गदी खोला सय मिटर भन्दा लामो छाागो छ । जसका कारण उद्दारमा कठिनाइ भएको हो । बैकुण्ठे भीरमा ग्रेड नमिलेको र ठाडै उकालो सडक रहेको छ । 

छेउतर्फ सुरक्षाका लागिसमेत कुनै सतर्कता अपनाइएको छैन भने केही समययता सडकसमेत बिग्रेर छियाछिया बनेको छ । दुर्घटनास्थल सदरमुकाम तानसेनदेखि ११ किलोमिटर टाढा पर्छ । तानसेनदेखि १३ किलोमिटर टाढा रहेको रानीमहलसम्म लुम्बिनी प्रदेश सरकारको सहयोगमा गतवर्ष कालोपत्रे सकिएको हो । 


प्रतिक्रिया