शव परिवारलाई बुझाइयो

कार्तिक ५, २०८०

हमासको आक्रमणमा परी इजरायलमा मृत्यु भएका सुदूरपश्चिमका चार जनाको शव धनगढी पुर्‍याएर परिवारलाई बुझाइएको छ । कैलाली घोडाघोडी ४ का नारायणप्रसाद न्यौपाने, कैलाली जोशीपुर ५ का आशिष चौधरी, दार्चुला मालिकार्जन ४ का लोकेन्ऽसिंह धामी र दार्चुलाकै लेकम ५ का दीपेशराज बिष्टको शव धनगढी पुर्‍याइएको हो । 

नेपाली सेनाको स्काई भ्यान मार्फत धनगढी पुर्‍याइएका ती शवहरु कैलाली जिल्ला प्रशासन कार्यालयले समन्वय गरी परिवारजनलाई हस्तान्तरण गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीले बताउनुभयो । दार्चुलाका शवहरू सम्बन्धित स्थानीय तहको समन्वयमा शव वाहन व्यवस्थापन गरी पठाइएको उहांले बताउनुभयो । कैलालीका शवलाई पनि त्यसैगरी पठाइएको उहांको भनाई छ । नेपालका लागि इजरायलका राजदूतसमेत धनगढी पुगेर मृतकका आफन्तलाई भेटघाट गर्नु भएको छ ।

गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । ती मध्ये सात जना सुदूरपश्चिमका हुन् ।


प्रतिक्रिया