अधिकार नदिए संघविरुद्ध वारपारको लडाइँ : मुख्यमन्त्री यादव

कार्तिक २२, २०८० | जनकपुर

मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले अधिकार प्राप्तिका लागि संघीय सरकारविरुद्ध ‘वारपार’को लडाइँमा उत्रिने घोषणा गर्नु भएको छ । प्रहरी समायोजन र निजामति कर्मचारीको खटनपटन प्रदेश मातहत नदिए संघीय सरकारविरुद्ध आन्दोलन चर्काउने उहाँले बताउनुभयो । 

प्रदेश राजधानी जनकपुरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा मुख्यमन्त्री यादवले ६ वर्षसम्म कुरेको भन्दै अब प्रहरी–प्रशासन र कर्मचारी बेगर प्रदेश सरकार सञ्चालन गर्न कठिन भएको बताउनुभयो । 

‘संघ सरकारविरुद्ध अबको लडाइँ वारपारको हुनेछ,’ मुख्यमन्त्री यादवले भन्नुभयो, ‘६ वर्षसम्म आश्वासन कुरेर बस्यौं । अब प्रहरी–प्रशासन र कर्मचारी बेगर प्रदेश सरकार सञ्चालन गर्न कठीनाइ भइसक्यो । अधिकार नदिए वारपारको आन्दोलन हुनेछ ।’

मुख्यमन्त्री यादवले भोलि बिहीबार बिहान साढे १० बजे प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ज्ञापन–पत्र बुझाउने जानकारी दिनुभयो । प्रधानमन्त्री दाहाललाई ज्ञापन–पत्र बुझाउन मुख्यमन्त्री यादवसहित मन्त्रीहरु र विभिन्न दलका संसदीय दलका नेता काठमाडौं आइपुगेका छन् । 

मुलुकमा संघीयता आएको ८ वर्ष भइसकेको भन्दै संघीयता र प्रदेश सरकारलाई सवल तथा अधिकार सम्पन्न बनाउन यो पर्याप्त समय भएको उहाँले बताउनुभयो । सबै अधिकार आफूसँग राखेर संघले प्रदेश सरकारलाई चल्न नदिएको उहाँको गुनासो छ । 

मुख्यमन्त्री यादवले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाएको ३० दिनभित्र प्रहरी समायोजन, निजामति कर्मचारीको खटनपटन, गुठीको जग्गामा प्रदेश सरकारको स्वामित्व र वन क्षेत्र प्रदेशको मातहत नदिए काठमाडौंको माइतीघर मन्डलामा धर्ना बस्ने र त्यही प्रकृतिको कार्यक्रम मधेस प्रदेशको ८ वटै जिल्लामा सुरुवात गर्ने चेतावनी दिनुभयो ।


प्रतिक्रिया