कोशीमा ३६ अर्ब ७४ करोड रुपैयाँको बजेट पारित

मंसिर ९, २०८० | विराटनगर

कोशी प्रदेशसभाले प्रतिस्थापन विधेयकमार्फत् ल्याइएको ३६ अर्ब ७४ करोड रुपैयाँको बजेटको पारित गरेको छ ।

 आर्थिक मामिला तथा योजना मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका मुख्यमन्त्री केदार कार्कीले सो बजेट प्रदेशसभामा प्रस्तुत गर्नुभएको थियो ।  मुख्यमन्त्री कार्कीले अध्यादेशबाट ल्याइएको बजेटमा २५ लाखमुनिका तीन हजार बढी योजना हटाउँदै प्रतिस्थापन विधेयक ल्याउनुभएको हो ।

मानवीय विकाससँगै कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखिएको मुख्यमन्त्री कार्कीले बताउनुभयो । किसानले उत्पादन गरेको दूध निर्यातका लागि निजि क्षेत्रसँग सहकार्य गरि मूल्य पाउने व्यवस्था गरिने कार्कीको भनाई छ ।

बजेट मार्फत प्रदेशमा मानवीय विकासका लागि १० वर्षमुनिका बालबालिकाका लागि निःशुल्क उपचार, प्रत्येक पालिकामा कृषि र पशुपंक्षी विषयमा अध्ययनका लागि छात्रवृतिको व्यवस्था गरिएको छ ।

 यसअघि जनता समाजवादी पार्टी र माओवादी केन्द्रले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका तत्कालीन मुख्यमन्त्री हिक्मत कार्कीले गत जेठ ३२ मा चालु आर्थिक वर्षका लागि अध्यादेशबाट बजेट ल्याउनुभएको थियो । 


प्रतिक्रिया