कोप २८ मा सहभागी हुन प्रधानमन्त्री दाहाल बुधबार यूएई जाने

मंसिर ११, २०८० | काठमाडौं

जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन कोप २८ मा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल पर्सि बुधबार संयुक्त अरव इमिरेट्स यूएई जानुहुने भएको छ ।

यूएईको दुबईमा आगामी बिहिबारदेखि मंसिर २६ गतेसम्म आयोजना हुने कोप २८ मा प्रधानमन्त्री दाहालको भ्रमण तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार, प्रधानमन्त्री दाहालले आगामी शनिबार सम्मेलनको सम्बोधन गर्ने तय भएको छ ।

सोही दिन उहाँले जलवायु परिवर्तनका क्रममा हिमाली क्षेत्रमा पारेको असरबारे उच्चस्तरिय साइडलाइन कार्यक्रम आयोजना गर्नुभएको छ । सम्मेलनका क्रममा प्रधानमन्त्री दाहालले विभिन्न देशका राष्ट्र प्रमुख तथा उच्च पदस्थ व्यक्तित्वसँग द्वीपक्षीय भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा उहाँले आबुधाबीस्थित नेपाली दूतावासमा जाने र नेपाली समुदायका साथै नेपाल–यूएई व्यवसायी सम्मेलनलाई सम्बोधन गर्ने तय भएको छ ।

भ्रमण टोलीमा प्रधानमन्त्री पुत्री गंगा दाहाल, वन तथा वातावरणमन्त्री वीरेन्द्र महतोका साथै उच्च सरकारी अधिकारीहरु सहभागी हुनेछन् । भ्रमण टोली मंसिर १७ गते स्वदेश फर्किने कार्यक्रम छ । 


प्रतिक्रिया