राप्रपाका विष्ट कोशीको सभामुखमा निर्विरोध

पुस २४, २०८०

प्रमुख दलहरुको समर्थनमा राप्रपाका नेता अम्बरबहादुर विष्ट कोशी प्रदेशसभाको सभामुख बन्नुभएको छ । नेपाली कंग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी तथा प्रतिपक्षी एमाले समेतको समर्थनमा विष्ट निर्विरोध सभामुख चयन हुनुभएको हो । संसदीय अंकगणितका कारण आगामी दिनमा प्रदेश सरकारलाई अप्ठ्यारो पर्न सक्ने भएकाले सत्तारुढ दलले राप्रपालाई सभामुख दिने निर्णय गरेका हुन् । ९३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ४७ मत आवश्यक पर्ने भएकाले अहिले सरकारलाई समर्थन दिएको एमालेले समर्थन फिर्ता लिएको अवस्थामा बहुमत कायम राख्न राप्रपालाई एकैठाउँमा ल्याउने नीति सत्ता गठबन्धनले लिएको बुझिएको छ । 

सत्तारुढ कंग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको गरी ४७ सांसद छन् । मुख्यमन्त्री केदार कार्की नेतृत्व सरकारलाई सहयोग गर्ने सर्तमा राप्रपाले सभामुख पाएपछि अब गठबन्धनको पक्षमा ५३ सांसदको समर्थन हुने भएको छ । एमालेसँग उपसभामुखसहित ४० जना सांसद छन् । तत्कालिन सभामुख बाबुराम गौतमले राजिनामा दिएपछि रिक्त पदमा राप्रपाका विष्ट निर्विरोध हुनुभएको हो । गौतमले गत साउन १६ गते राजीनामा गरेपछि कोशी प्रदेश सभा सभामुख विहिन थियो । उपसभामुख सृजना दनुवारले प्रदेशसभाको आजको बैठकमा विष्ट निर्विरोध सभामुख चयन भएको घोषणा गर्नुभएको थियो । सभामुख पाएपनि राप्रपाले गठबन्धन सरकारमा सहभागी हुने निर्णय भने गरिसकेको छैन । 


प्रतिक्रिया