एसएसबीको अवरोधले धनुषाको सीमावर्ती क्षेत्रमा चारवटा पुल अलपत्र

माघ ७, २०८० | जनकपुर

भारतीय सीमा सुरक्षा वल (एसएसबी) को अवरोधका कारण धनुषाको सीमावर्ती क्षेत्रमा निर्माणाधिन चारवटा पुल अलपत्र भएका छन् ।

दशगजा क्षेत्रमा निर्माणको काम गर्न नदिने भारतीय नीतिअनुसार एसएसबीले चारवटा पुलको काम रोकिदिएका छन् । धनुषाको दक्षिण सीमावर्तीका दुई स्थानीय तहले नेपाल–भारत आवतजावतका लागि दशगजा क्षेत्रमा निर्माण थालेको चारवटा पुल एसएसबीको अवरोधका कारण ६ वर्षदेखि अलपत्र भएको हो ।

नगराइन नगरपालिकाअन्तर्गत नेपाल–भारत सीमा क्षेत्र लगमामा निर्माण थालिएको झोलुङ्गे पुल र मुखियापट्टी–मुसरनिया गाउँपालिकाले जमुनी घाट, जटही पुल तथा अखडा घाटमा नेपालले बनाइरहेको पुलको काम एसएसबीले रोकेको हो ।

जटही–पिप्ररोन सडक खण्डको दशगज्जामा नेपालले निर्माण गरिरहेको उक्त पुलको तीनवटा पिलर बनाइसकिएको छ । पुलको माथिल्लो भाग ढलान गर्न बाँकी छँदा एसएसबीले करिव ६ वर्षअघि त्यहाँ अवरोध गरेर काम रोक्न लगाएको थियो ।

निर्माणाधिन पुलको छेउमै भारततिर एसएसबीले चेक प्वाइन्ट पनि राखेको छ । यसैबीच मुखियापट्टी मुसरनिया गाउँपालिकाले परराष्ट्र मन्त्रालयलाई पत्र लेखेर पुल निर्माणमा भएको भारतीय अबरोध हटाउन कुटनीतिक पहल गरिदिन अनुरोध गरेको छ ।


प्रतिक्रिया