दिलीप महतो हत्या प्रकरणः उच्च अदालत जनकपुरद्वारा जिल्लाको फैसला सदर

माघ २५, २०८० | धनुषा

उत्खनन् रोक्न खोलामा पुगेका धनुषाका दिलीप महतोको हत्या सम्वन्धि मुद्धामा जिल्ला अदालतले गरेको २५ वर्षको कैद फैसलालाई उच्च अदालत जनकपुरले पनि सदर गरेको छ ।

 मिथिला नगरपालिका–५ श्रीपुरका महतोको ४ वर्षअघि औरही खोलामा हत्या गरिएको थियो । उच्च सरकारी वकिल कार्यालयका प्रमुख कोषहरि निरौलाका अनुसार बहसपछि महतोको हत्या आरोपी रहेका तीनैजनाको हकमा जिल्ला अदालतले सुनाएको फैसला नै सदर गरिएको हो । 

उच्च अदालत जनकपुरका न्यायाधीश महेन्द्रनाथ उपाध्याय र धुव्रकुमार पियाको संयुक्त इजलासले जिल्ला अदालतकै फैसलालाई सदर गरेको रजिष्ट्रार यमबहादुर बुढामगरले बताउनुभयो । जिल्ला अदालत धनुषाले २०७९ फागुन १२ गते तीन जनालाई कैद र जरिवानाको फैसला गरेको थियो । 

हत्याका मुख्य योजनाकार भनिएका चुरियामाइ बालुवा प्रशोधन उद्योगका सञ्चालक विपीन महतो र कामदार मुनिन्द्र महतोलाई जनही २५–२५ वर्ष कैद र ५–५ लाख क्षतिपूर्ति तिर्न जिल्ला अदालत धनुषाले फैसला गरेको थियो ।

 हत्याका मतियार भनिएका जितेन्द्र महतोलाई साढे १२ वर्ष कैद र २ लाख ५० हजार रुपैया क्षतिपूर्ति तिर्न जिल्ला अदालतको फैसला थियो । 

सो सजाय पर्याप्त नरहेको भन्दै दिलीपको परिवार उच्च अदालत पुगेका थिए । २०७६ पुस २५ गते महतोको घरनजिकैको औरही खोलामा टिपरले हानेर हत्या गरिएको थियो ।


प्रतिक्रिया