कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीचको वार्ता सकारात्मक, भोलि फेरि बस्ने

माघ २५, २०८० | काठमाडौं

कोशी प्रदेश सरकार र आन्दोलनरत पहिचानवादीको प्रदेश पुनः नामकरण संघर्ष समितिबीच भोलि पुनः वर्ता हुने भएको छ ।

प्रारम्भिक चरणको वार्ता सकारात्मक भएको बताउँदै भोलि विहान पुनः वर्ता गर्ने सहमति भएको सरकारी वार्ता टोलीका संयोजक एवं भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुले बताउनुभयो ।

प्रदेश सरकार र पहिचान पक्षधरबीच आज साँझ ३ घण्टा वर्ता भएको थियो ।

वार्तामा सरकारका पक्षवाट वार्ता टोलीका संयोजक भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जबेगुको नेतृत्वमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उपे्रती र आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन् । आन्दोलनरत पक्षवाट वार्ताका लागि संघर्ष समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिम सहित ११ सदस्य छन् ।

गत माघ ६ मा बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले आन्दोलनरत पक्षसंग वार्ताका लागि भौतिक पूर्वाधार विकासमन्त्री जबेगुको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेर वार्ताका लागि आह्वान गरेको थियो ।

वार्तामा कोशी प्रदेश नाम खारेज गरी पहिचान सहितको पुनः नामाङ्कन गर्नुपर्ने विषयलाई समितिले मुख्य एजेन्डा बनाएको छ । २०७९ फागुन १७ मा प्रदेशको नाम कोशी राखेपछि पहिचानका आधारमा नाम राख्नुपर्ने मागसहित पहिचान पक्षधरहरु आन्दोलनमा उत्रिएका हुन् ।  


प्रतिक्रिया