रुसी सेनामा भर्ती पश्चात मारिने नेपालीको संख्या १६ पुग्यो (नामसहित)

फाल्गुन १२, २०८० | काठमाडौं

रुसी सेनामा भर्ती भएर युद्धको क्रममा मारिएका नेपाली नागरिकको संख्या १६ पुगेको पीडित परिवारले दाबी गरेका छन् । 

काठमाडौंमा आज पत्रकार सम्मेलन आयोजना गर्दै पीडित परिवारले रुस–युक्रेन युद्धमा मारिएका नेपाली नागरिकको संख्या हालसम्म १६ पुगेको बताएका हुन् । 

उनीहरुको दावी अनुसार दोलखाका राजकुमार रोका, कैलालीका भरतबहादुर शाही, कास्कीका देवान राई, स्याङ्जाका प्रितम कार्की र हरिप्रसाद अर्याल, इलामका गंगाराज मोक्तान, कपिलवस्तुका रुपक कार्की, गोर्खाका सन्दीप थपलिया, दार्चुलाका कुन्दन सिंह नगाल, धादिङका पूर्णबहादुर गुरुङ र राजकुमार गिरीको मृत्यु भएको छ । 

परिवारजनले दिएको जानकारी अनुसार बाँकेका संजय केसी, लमजुङका साजन गुरुङ र सन्तोष गुरुङ, रसुवाका सुन्दर मोक्तान र दाङका जितबहादुर पुनको समेत युद्धमा मृत्यु भएको छ । सरकारले भने अहिलेसम्म १२ जनाको मृत्यु भएको पुष्टि गरेको छ । यसैबीच, पीडित परिवारले रुसमा घाइते १ सय १६ जना, परिवारको सम्पर्कमा नआएको २ सय ७२ जना र परिवारसँग सम्पर्कमा रहेकाहरु समेत गरी ५ सय भन्दा बढी युवा रुसी सेनामा कार्यरत रहेको दावी गरेका छन् ।

 उनीहरुले रुस–युक्रेनमा अलपत्र परेका र बेपत्ता भएका व्यक्तिको खोज र उद्दार गरिदिन सरकारसँग आग्रह गरेका छन् । यसैबीच, आज साँझ पीडित परिवारले पशुपति आर्यघाटमा मृतकको स्मृतिमा दीप प्रज्वलन गरेका छन् ।


प्रतिक्रिया