लुम्बिनीमा हुने भनिएको अन्तर्राष्ट्रिय शिखर सम्मेलन स्थगित

फाल्गुन २२, २०८० | बुटवल

संघीय सरकारमा नयाा गठबन्धन बनेपछि लुम्बिनीमा हुने भनिएको अन्तर्राष्ट्रिय शिखर सम्मेलन स्थगित भएको छ । यही फागुन २८ र २९ लुम्बिनीमा हुने भनिएको ‘बालबालिका, विकास र शान्तिका लागि लोरियट्स एण्ड लिडर्स अन्तर्राष्ट्रिय चौंथो शिखर सम्मेलन’ स्थगित भएको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताउनुभयो ।

शिखर सम्मेलन स्थगित सम्बन्धी निर्णय गर्न मुख्यमन्त्री चौधरीले मंगलबार ११ बजे मन्त्रिपरिषदको बैठक आहृवान गर्नु भएको छ । सम्मेलन स्थगित सम्बन्धी मन्त्रिपरिषदको बैठकले औपचारिक निर्णय गर्न लागेको लुम्बिनी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. नहकुल केसीले बताउनुभयो ।

‘औपचारिक निर्णय सरकारले मन्त्रिपरिषदको बैठकबाटै गर्दैछ,’ उहाँले भन्नुभयो, ‘पछिल्लो राजनीतिक घटनाक्रमपछि सम्मेलन हुन नसक्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा स्थगित नै उत्तम विकल्प देखेर सरकारले त्यही अनुसार मन्त्रिपरिषदमा प्रस्ताव लैजादै छ ।’

परिवर्तित राजनीतिक घटनाक्रम अनुसार सम्मेलनमा सहभागी हुन आउने विदेशी उच्चपदस्थ व्यक्तिहरुले पनि चासो देखाएपछि सम्मेलन स्थगित गर्न लागिएको उहाँले बताउनुभयो ।

लुम्बिनी प्रदेश सरकारको असोज १८ गतेको निर्णय र संघीय सरकारको कात्तिक २ गतेको निर्णय अनुसार यही फागुन २८ र २९ गते ‘बालबालिका, विकास र शान्तिका लागि लोरियट्स एण्ड लिडर्स अन्तराष्ट्रिय चौंथो शिखर सम्मेलन’ गर्न लागेको थियो । 

सम्मेलनमा सम्मेलनमा ९ जना नोबेल पुरस्कार बिजेतासहित विभिन्न देशका राष्ट्र प्रमुख, पूर्व प्रधानमन्त्री सहित १८ जना विशिष्ट अतिथि आउने निश्चित भएको थियो ।

विश्वव्यापी रुपमा बालबालिकाको उत्थान प्रकृयामा देखिएका चुनौती र विपन्नतालाई अन्त्य गर्न, विकास प्रयासका एकिकृत र साझा दृष्टिकोण सहित एउटै आवाज र ठोस प्रतिबद्धता विकास गर्न र अन्तर्राष्ट्रिय रुपमा लुम्बिनीको ब्राण्डिङ गर्न लुम्बिनी प्रदेश सरकारले शिखर सम्मेलनको आयोजना गरेको थियो । 

सम्मेलनमा नेपालसँग दौत्य सम्बन्ध कायम भएका केही राष्ट्रका प्रमुख, सरकार प्रमुख, पूर्व प्रमुख, नोबेल पुरस्कार विजेता, विश्वव्यापाी निर्णय निर्माता, विपन्नताबाट माथि उठेका अनुभवी युवा र युवा नेताहरु सहित नेपाली र विदेशी गरी ३ सय बढी विज्ञ सहभागी हुने तयारी थियो ।

संघीय सरकारमा राजनीतिक समीकरण फेरिएसँगै लुम्बिनीको शिखर सम्मेलनपनि स्थगित गरिएको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बताउनुभयो । अब हुने नहुने भन्ने विषय त्यसपछिका घटनाक्रममै निर्भर हुने उहाँको भनाई छ । 

‘राजनीतिक समीकरण फेरिएपछि सम्मेलन हुन नसक्ने अवस्था सिर्जना भयो,’ उहाँले भन्नुभयो, ‘लुम्बिनीका लागि यो ठूलो नोक्सानी हो ।’ सम्मेलनको विषयमा लुम्बिनी प्रदेशका प्रतिपक्षदल सहित सत्तापक्षमै रहेको माओवादीले पनि असन्तुष्टी जनाउँदै आएको थियो । 

प्रदेशका प्रतिपक्ष र सत्तापक्ष दलको असन्तुष्टी र राजनीतिक घटनाक्रम फेरिएपछि मुख्यमन्त्री चौधरी पनि सम्मेलन गर्नेमा अनिच्छुक देखिएको सचिवालयमा कार्यरत एक कर्मचारीले बताए । 

लुम्बिनी प्रदेश सरकारले सम्मेलन गर्नका लागि चालू आर्थिक वर्षको नीति कार्यक्रमबाटै घोषणा गरेर ६ करोड ५० लाख रुपैंयाँ बजेट विनियोजन गर्दै प्रदेश सभाबाट पारित गरेको थियो । 


प्रतिक्रिया